डडेल्धुरामा घरमै प्रसूति घट्दै, मातृ शिशु मृत्युदर अझै चुनौती

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा घरमै प्रसूति गर्ने महिलाको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा घटेको छ। स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउने प्रवृत्ति बढ्दै जाँदा असुरक्षित घर प्रसूति क्रमशः न्यून हुँदै गएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

स्वास्थ्य कार्यालयले शनिबार पत्रकार तथा स्वास्थ्यकर्मीहरूसँग आयोजना गरेको चालु आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०\८१ मा घरमै प्रसूति हुने महिलाको संख्या ९५ रहेको थियो।

Amargadhi Education

यो संख्या आर्थिक वर्ष २०८१\८२ मा घटेर ४७ मा पुगेको छ भने चालु आर्थिक वर्ष २०८२\८३ को हालसम्मको विवरणअनुसार थप घटेर २२ मा सीमित भएको छ।

कार्यक्रममा भेक्टर कन्ट्रोल सुपरभाइजर निरीक्षक हरिप्रसाद भट्टले सुरक्षित मातृत्व कार्यक्रम, जनचेतनामूलक अभियान तथा स्थानीय तहसँगको प्रभावकारी समन्वयका कारण संस्थागत प्रसूति बढ्दै गएको बताए। उनका अनुसार दुर्गम बस्तीका महिलामा समेत स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने चेतना विस्तार हुँदै गएको छ।

स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१\८२ मा संस्थागत प्रसूति दर ८५ प्रतिशत पुगेको थियो। यद्यपि चालु आर्थिक वर्षको हालसम्मको तथ्याङ्कमा संस्थागत प्रसूति ६२ प्रतिशत र दक्ष स्वास्थ्यकर्मीमार्फत हुने प्रसूति ६० प्रतिशत मात्रै रहेकाले शतप्रतिशत सुरक्षित प्रसूति सुनिश्चित गर्न अझै थप प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

प्रस्तुत तथ्याङ्कले संस्थागत प्रसूति गराउने आमामध्ये करिब १३ प्रतिशत २० वर्षमुनिका रहेको देखाएको छ। यसले बालविवाह तथा कम उमेरमै गर्भधारण गर्ने समस्या अझै चुनौतीकै रूपमा रहेको संकेत गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

अजयमेरु फाैजी केरा

मातृ तथा शिशु स्वास्थ्यका सूचकमा सुधार देखिए पनि चुनौती पूर्ण रूपमा हटिसकेको छैन। आर्थिक वर्ष २०८०\८१ मा गर्भमै मृत्यु हुने शिशुको संख्या ३२ रहेकोमा हाल १८ मा झरेको छ। तर चालु आर्थिक वर्षमा नवजात शिशु मृत्यु १५ र मातृ मृत्यु ५ रहेको तथ्याङ्कले मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा अझै गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको समीक्षा पनि प्रस्तुत गरिएको थियो। स्वास्थ्य कार्यालयका अनुसार एचपीभी खोप अभियानमार्फत १ हजार २८२ किशोरीलाई खोप लगाइएको छ।

प्रजनन स्वास्थ्य शिविरबाट १ हजार ४११ जनाले सेवा लिएका छन् भने स्थायी बन्ध्याकरण शिविरमार्फत २६ जना लाभान्वित भएका छन्। त्यसैगरी नसर्ने रोगको स्क्रिनिङ कार्यक्रमअन्तर्गत २४१ जनाको रक्तचाप, पिसाबमा प्रोटिन तथा सुगर परीक्षण गरिएको छ।

यस अवधिमा स्थानीय तहका लागि औषधि खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य शाखा प्रमुखहरूसँग अन्तरपालिका समन्वय बैठक, नियमित खोप तथा औषधि ढुवानी, विभिन्न स्वास्थ्य दिवस तथा स्वास्थ्य कार्यक्रमहरूको स्थलगत अनुशिक्षणसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रका सूचकमा सकारात्मक सुधार देखिएको बताए। उनले घरमै प्रसूति घट्नु, खोप अभियान प्रभावकारी बन्नु र प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु स्वास्थ्य क्षेत्रका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

तर उनले पब्लिक हेल्थ कार्यक्रमका लागि प्रदेश सरकारले अपेक्षाकृत न्यून बजेट विनियोजन गरेकाले कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताए। सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्यकर्मी र स्थानीय तहको सहकार्यले सकारात्मक उपलब्धि हासिल भएको उनको भनाइ थियो।

प्रमुख साउँदले मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, नसर्ने रोग नियन्त्रण, खोप अभियान तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पर्याप्त बजेट र स्रोतको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा सहभागी सरोकारवालाले घरमै हुने प्रसूति शून्यमा झार्न, मातृ तथा शिशु मृत्युदर घटाउन ग्रामीण क्षेत्रमा सडक पहुँच, एम्बुलेन्स सेवा र बर्थिङ सेन्टरलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.