
डडेल्धुरा : गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई विकास र डिजिटल सुशासनको वर्षका रूपमा अघि बढाउने घोषणा गरेको छ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधिलाई केन्द्रमा राख्दै गाउँपालिकाले महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।


गाउँसभाको २२औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकालाई क्रमशः ‘पेपरलेस कार्यालय’ मा रूपान्तरण गर्ने, सबै सेवा अनलाइनमार्फत प्रवाह गर्ने तथा गाउँ फर्किने नागरिकलाई नगदसहित विशेष प्रोत्साहन उपलब्ध गराउने योजना समेटिएको छ।
नीति तथा कार्यक्रमअनुसार सामुदायिक विद्यालयमा ई–लर्निङ, भर्चुअल कक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सिकाइ प्रणाली तथा ई–हाजिरी लागू गरिनेछ। विपन्न, टुहुरा र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा ‘गाउँपालिका अध्यक्ष अभिभावकत्व कार्यक्रम’ मार्फत सहयोग गरिने जनाइएको छ।

स्वास्थ्य क्षेत्रतर्फ आधारभूत अस्पताललाई थप सुदृढ बनाइने, विशेषज्ञ सेवामा पहुँच विस्तार गरिने तथा मानसिक स्वास्थ्य, आयुर्वेद, योग र प्राकृतिक चिकित्साजस्ता सेवासमेत सञ्चालन गरिने भएको छ।
कृषिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित ‘एक पकेट–एक उत्पादन’, आलु सुपर जोन, भटमास खेती, जैविक कृषि तथा युवामुखी कृषि कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
गाउँपालिकाले हालसम्म १५० रोपनी बाँझो जमिन खेतीयोग्य बनाएको र ४९५ रोपनी क्षेत्रमा आलु खेती विस्तार गरेको जनाएको छ।
पर्यटन प्रवर्द्धनका लागि गन्याप पदमार्ग निर्माण, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, गाउँपालिकास्तरीय संग्रहालय स्थापना तथा खेल पूर्वाधार विस्तारका कार्यक्रम पनि अघि सारिएका छन्।
यस्तै, ‘एक घर–एक धारा’ अभियानलाई थप प्रभावकारी बनाउँदै सबै खानेपानी योजनाको जीआईएस म्यापिङ, डिजिटल अभिलेखीकरण र पानीको गुणस्तर परीक्षण नियमित गरिने भएको छ।
अध्यक्ष कार्कीका अनुसार प्रस्तुत नीति तथा कार्यक्रमले गन्यापधुरालाई कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र प्रविधिमा आत्मनिर्भर तथा आधुनिक स्थानीय सरकारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।



