
डडेल्धुरा : डडेल्धुरामा परिवार योजना सम्बन्धी स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ।
मंगलबार स्वास्थ्य कार्यालय, डडेल्धुराले परिवार योजना स्थायी बन्ध्याकरण शिविर अगावै अन्तक्रिया कार्यक्रममा शिविर सञ्चालन हुने बारे जानकारी दिएको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो परिवार नेपाल र सम्बन्धित पालिकाहरुको समन्वयमा परिवार योजना सम्बन्धी निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको हो।

शिविरमार्फत महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा निःशुल्क प्रदान गरिने स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त कार्यालय प्रमुख भवानी कुँवरले बताए।
उनकाअनुसार सन्तानको रहर पूरा गरिसकेका महिला तथा पुरुषहरूले उक्त सेवा लिन सक्नेछन्।
महिला बन्ध्याकरण (मिनिल्याप) गराउन आउने महिलाहरूले अनिवार्य रूपमा खाना–नास्ता नखाई भोको पेट आउनुपर्नेछ भने एक जना आफन्त साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
शिविर फागुन ९ गते नेपाल रेडक्रस सोसाइटी भवन, डडेल्धुरामा सञ्चालन हुनेछ।
त्यसैगरी फागुन ११ गते जोगबुढा अस्पताल मा तथा फागुन १२ गते आलिताल स्वास्थ्य चौकी मा शिविर सञ्चालन गरिने कार्यक्रम रहेको छ।



