
डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबिच एकता गर्ने विषयमा निर्णायक वार्ता भइरहेको छ।
अहिले रास्वपा सभापति रवि र उनेपा संरक्षक कुलमान निर्णायक वार्तामा बसेका छन्। उनीहरू कुन ठाउँमा बसेका छन् भनेर स्थान खुलाएका छैनन्।

दुबै जनाबीच पार्टी एकीकरण बारे छलफल भइरहेको उज्यालो नेपाल पार्टीका एक नेताले बताए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह रास्वपा प्रवेश गरेपछि कुलमानलाई पनि ल्याउनु पर्ने आवाज रास्वपाभित्र चर्को छ।
उनेपाभित्र पनि बैकल्पिक राजनीतिक शक्ति मिल्नुपर्ने आवाज बलियो छ। त्यसैले यी दुई नेताबीचको बैठक अर्थपूर्ण रुपमा हेरिएको छ।
कुलमान रविसँग वार्तामा बस्ने तयारीकै क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपासँग एकता गर्न कुलमानलाई फोन गरेको स्रोत बताउँछ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट समेत फोन सम्पर्क पुगेको जनाइएको छ।
यसअघि गएरात भने कुलमान घिसिङ, महानगरका मेयर बालेन शाह र रवि लामिछानेबीचको बैठक पनि बसेको बताइए पनि त्यहाँबाट कुनै ठोस निष्कर्ष ननिस्किएको बताइन्छ।



