
डडेल्धुरा : परशुराम नगरपालिका–१२, लालढुङ्गामा रहेको नागार्जुन अटो पार्टस सेन्टरमा दैनिक बिहानदेखि बेलुकासम्म मोटरगाडी मर्मतमा व्यस्त देखिन्छन्, गोपाल राउटे।
उमेरले ३२ वर्ष पुगेका उनी लोपोन्मुख राउटे समुदायका व्यक्ति हुन्।

तीन वर्षदेखि सो अटो पार्टस सेन्टरमा कार्यरत गोपाल दैनिक ज्यालादारीका भरमा जीविकोपार्जन गर्छन्। उनले अटो पार्टस सेन्टरमा काम गरेर दुई/तीन जनाको परिवार पाल्दै आएको बताए।


‘बिहानै आउँछु, बेलुका फर्कन्छु,’ उनले लजालु स्वरमा भने, दैनिक ज्यालादारीमा काम गर्छु, सवारी मर्मतमा सहयोग गर्छु।’
उनी परशुराम नगरपालिका–४, रज्यौडामा बसोबास गर्दै आएका छन्।
अटो पार्टस सेन्टरका सञ्चालक राजेन्द्र भट्टका अनुसार गोपाल तीन वर्षदेखि निरन्तर रूपमा काम गर्दै आएका छन्।
‘राउटेले गर्ने काम लोप भइसक्यो, स्थानीय तहको ध्यान नै छैन। अधिकांश राउटे जाँड रक्सि मात्रै खान्छन्। तर, गोपाल मेहेनत गरेर काम गरिरहेको छ, उनले भने, ‘उनी समयमा आउँछन्, काममा रमाउँछन्’
स्थानीय बासिन्दाले पनि गोपाललाई इमानदार र मेहनती व्यक्तिको रूपमा चिनेका छन्।



