
डडेल्धुरा : प्रहरी प्रधान कार्यालयले कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणालाई काज सरुवामा प्रधान कार्यालय तानेको छ।
त्यससँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसपी नरेन्द्र चन्दलाई कैलाली प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

गएको साउन २३ गते कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक कैदीको मृत्यु भएपछि सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।

उनी गत वैशाखमा कैलाली गएका थिए। पाँच महिनामै उनको सरुवा भएको छ।
कैलाली कारागारमा भएको पछिल्लो झडप घटनापछि एसपी राणाको कार्यक्षमतामाथि प्रश्न उठेको थियो।
त्यसै क्रममा साउन २८ गते प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई पनि केन्द्रमा तानिएको थियो।
दुई सातापछि अब प्रहरी प्रमुख राणा समेत सरुवा भई नयाँ प्रमुखका रूपमा चन्द खटिएका छन्।




