
परशुराम : डडेल्धुराको परशुराम नगरपालिका-७, लामीगडामा गाैरा पूजन समितिको आयोजनामा तथा प्रगतिशील युवा क्लबको व्यवस्थापनमा आगामी भदौ १६ र १७ गते विशेष गाैरा तथा तिज सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
कला, संस्कृति संरक्षण र सामाजिक सद्भावको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिन लागेको हो।

क्लबले स्थापना कालदेखि नै सामाजिक जागरण, सामुदायिक हित र संस्कृति संरक्षणका क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ।
सोही योगदानलाई थप प्रभावकारी बनाउँदै युवा पुस्तालाई मौलिक संस्कृति र परम्पराबारे सचेत गराउने उद्देश्यले यसपटक गाैरा तथा तिज विशेष कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महादेव भट्ट ‘किरण’ ले जानकारी दिए।

कार्यक्रममा गाैरा तथा तिज विशेष खुला प्रगतिशील डेउडा प्रतियोगिता, पञ्चेबाजा, धुमारी, सघुना, ढुस्को ठाडो खेल, ठाडो भाका लगायतका प्रस्तुति समावेश गरिनेछ।
साथै स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति समेत रहनेछ।
यस कार्यक्रमलाई सफल बनाउन आवश्यक आर्थिक स्रोत जुटाउने क्रममा क्लबले देश–विदेशमा रहनुभएका सम्पूर्ण शुभेच्छुक, सहयोगी संस्था, निकायहरू तथा सामाजिक उत्तरदायित्व बोकेका व्यक्तिहरूलाई यथासम्भव आर्थिक सहयोग प्रदान गर्न हार्दिक अपिल गरेको छ।
विशेषतः वैदेशिक रोजगारीका सिलसिलामा भारत तथा अन्य देशका विभिन्न सहरहरूमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेत यो अपिल गरिएको छ।
क्लबका सचिव केशव बहादुर बिष्ट ‘रोचक’ ले समाज रूपान्तरणमा युवाहरूको सक्रियता अनिवार्य रहेको बताउँदै यस किसिमको कार्यक्रमले युवामा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै स्थानीय पहिचान, कला र संस्कृति संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरे।




