शुक्लाफाँटाका मेयर रणबहादुरले तीन वर्षमा केके गरे ?

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले तीन वर्षे कार्यकालमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ।

२०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित नगरप्रमुख रणबहादुर महराको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, प्रशासन, न्याय र सामाजिक क्षेत्रमा विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।

Amargadhi Education

पत्रकार सम्मेलनमार्फत नगरपालिकाले उल्लेख गरेअनुसार, सडक स्तरोन्नति र कालोपत्रेदेखि खानेपानीको चक्रपथ आयोजना, नगरस्तरीय कभर्डहल निर्माण, मल्टिस्पान पुल र सोलार बत्ती जडानजस्ता पूर्वाधार निर्माणका कामहरू सम्पन्न भएका छन्।

नगर अस्पतालको ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत २५३ विपन्न परिवारलाई ३० हजारका दरले अनुदान वितरण गरिएको छ।

पर्यटकीय विकासतर्फ मणिकाधाम बतासे झर्नासम्म ३.५ किलोमिटर पदमार्ग निर्माण गरिएको छ।

स्वास्थ्य क्षेत्रमा निःशुल्क खोप, कृत्रिम गर्भाधान केन्द्र स्थापना र ३,३३७ नागरिकको आँखा परीक्षण गरिएको छ।

सामाजिक सुरक्षा र समावेशी सेवातर्फ अपांगता भएका ३० जनाको पहिचान गरी तालिम, एकल महिलाका लागि सीपमूलक तालिम, र ३ सयभन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ।

शिक्षा क्षेत्रमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण र सामुदायिक विद्यालयहरूमा नयाँ भवन निर्माण गरिएका छन्।

अजयमेरु फाैजी केरा

कृषि क्षेत्रमा विविध कार्यक्रमसहित ८६ किसानलाई जग्गाधनी प्रमाणपत्र वितरण गरी जग्गाको स्वामित्व सुनिश्चित गरिएको छ। मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ८ किलोमिटर मेस वायर घेराबारा निर्माण गरिएको छ।

रोजगारी सिर्जनामा समेत नगर सक्रिय देखिएको छ। हालसम्म ७६५ युवालाई विभिन्न माध्यमबाट रोजगारीमा जोडिएको जनाएको छ।

व्यवसाय प्रवर्द्धनका लागि ८४ नयाँ व्यवसाय दर्ता, २५५ नवीकरण र ३९ नामसारी गरिएको छ। अटो रिक्साका लागि कानुन बनाई ४४ वटा सवारी दर्ता र ११ रुटमा इजाजत प्रदान गरिएको छ।

नगरपालिकाले लेखा प्रणालीलाई पनि व्यवस्थित बनाउँदै विद्युतीय भुक्तानीमार्फत पारदर्शिता कायम गरेको छ। न्याय समितिको काम पनि सन्तोषजनक देखिन्छ।

गत दुई आर्थिक वर्षमा आएका ६२ मुद्दामध्ये ५८ टा मेलमिलाप गरिएका छन्। आर्थिक सुशासन र संस्थागत क्षमताका सूचकहरूमा पनि शुक्लाफाँटा अग्रस्थानमा देखिएको छ। ०७९/८० मा प्रदेशमै पहिलो र ०८०/८१ मा जिल्लामै पहिलो भएको छ।

कार्यक्रममा नगरप्रमुख रणबहादुर महराले जनतासँग गरेका वाचा अनुसार योजनाहरू अघि बढाइएका र कतिपय सम्पन्न भइसकेका बताए।

उपमेयर कमला पन्तले निष्पक्षता र जनउत्तरदायीतामा आधारित रहेर काम भएको बताइन्।

प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले योजना छनोटदेखि कार्यान्वयनसम्म स्पष्ट नीति अनुसार अघि बढाइएको उल्लेख गरे।

तीन वर्षे यात्रामा सेवा प्रवाह, पूर्वाधार, सामाजिक सुरक्षा र आर्थिक सुशासनलाई जोड दिइएको शुक्लाफाँटा नगरपालिकाको कार्यशैलीले अन्य स्थानीय तहका लागि पनि एउटा सशक्त अभ्यासको उदाहरण प्रस्तुत गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.