सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक, पाँच पटक म्याद थप्दा पनि निर्माण अधुरै

dream cafe
learnar

कञ्चनपुर : कञ्चनपुरको दैजी हुँदै डडेल्धुराको भित्री मधेश जोड्ने सडक निर्माण ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा पनि काम अधुरै रहेको छ।

२०७४ साल वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि हालसम्म ९ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ।

GBL NEW

निर्माण कार्यमा ढिलाइ भइरहेपछि हालसम्म पाँच पटक म्याद थपिएको छ।

पछिल्लो पटक २०८२ साल असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ।

सडक निर्माण सम्पन्न नहुँदा डडेल्धुराको भित्री मधेशका स्थानीयले महेन्द्रनगर जान अहिले पनि अत्तरिया हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

परशुराम नगरपालिका–९ का वडा अध्यक्ष देवबहादुर बोहराका अनुसार सडक निर्माण नहुँदा स्थानीयले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा आर्थिक क्षति बेहोर्नुपरेको छ।

“सडक भइदिएको भए यहाँका दाल, तरकारी, फलफूल महेन्द्रनगर लैजान सहज हुन्थ्यो,” उनले भने।

स्थानीय राम धामीका अनुसार निर्माण सुरु हुँदा बनाइएका नाला (ड्रेन) समेत सरोकारवाला निकायको बेवास्ताका कारण पुरिन थालेका छन्।

उनका अनुसार सडकको अवस्था हेर्दा निर्माणकार्यप्रति सरकारी चासो कमजोर देखिन्छ।

यो सडक डडेल्धुराको भित्री मधेशलाई कञ्चनपुरसँग जोड्ने छोटो दूरीको विकल्प हो, जसले भीमदत्त राजमार्गको वैकल्पिक मार्गको रूपमा महत्त्व राख्दछ।

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार ठेकेदार कम्पनीलाई हालसम्म १८ करोड ३६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। तर निर्माण भने अझै अपूरो नै रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.