
डडेल्धुरा : न्यून लगानी र कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि डडेल्धुराका किसानहरू मौरीपालन व्यवसायतर्फ तीव्र रूपमा आकर्षित भइरहेका छन्।
परम्परागत खेती प्रणालीबाट सन्तोषजनक लाभ नपाउँदा किसानहरूले वैकल्पिक आय स्रोतको खोजी गर्दै मौरीपालनलाई रोज्न थालेका हुन्।


भागेश्वर गाउँपालिका–४ बगरकोटका दीर्घराज जैसी विगत एक दशकदेखि मौरीपालन व्यवसायमा संलग्न छन्। उनका ४५ वटा मौरीघार छन्।
उनी गाउँमै मह उत्पादन र बिक्री गरेर आत्मनिर्भर बन्न सफल भएका छन्। जैसीले उत्पादन गरेको मह प्रायः बगरकोट बजारमै बिक्री हुने गर्छ।

यस्तै, डुङरीका मोहनसिंह माली पनि मौरीपालनमा संलग्न छन्।
अन्नबालीको तुलनामा मौरीपालनबाट बढी आम्दानी भएपछि उनी यस व्यवसायप्रति आकर्षित भएका हुन्। हाल उनका २७ घार मौरी छन्।

मह सिधै घरबाटै बिक्री हुने गरेको माली बताउँछन्। उनले मौरी संख्या बढाउन ‘गोला विधि’ अपनाइरहेका छन्।
तर, रानीमौरी संरक्षणमा दक्षता नहुँदा उनका २२ घार हाल खाली छन्।

डुङरीकै टेकबहादुर केसी, कृष्णनाथ, जमुना देवी सार्की, निर्मला नाथ, यज्ञसिंह साउद, चक्र भण्डारीलगायत दर्जनौँ किसान मौरीपालनमा सक्रिय छन्।
वडा अध्यक्ष बसन्तराज चटौतका अनुसार वडामा मौरीपालनतर्फ बढ्दो आकर्षण देखेर घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरी सातदिने सिप विकास तालिम सञ्चालन गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशव सिंह भण्डारीले तालिमपछि किसानको उत्साह झन् बढेको बताए।
तालिममा दक्ष प्रशिक्षकमार्फत मौरीघार व्यवस्थापन, रानीमौरी संरक्षण, गोला विधि, मह संकलन र गुणस्तर जाँचसम्बन्धी ज्ञान दिइएको थियो।
तालिमपछि सहभागी किसानलाई मौरीघार, झोला, टोपी, पन्जा लगायतका आवश्यक सामग्री पनि हस्तान्तरण गरिएको सहायक प्रशासकीय अधिकृत नरेन्द्रराज पन्तले जानकारी दिए।
सातदिने तालिमपछि परम्परागत शैलीमा मौरीपालन गर्दै आएका किसानहरु अझ बढी उत्साहित भएका छन्।
स्थानीय तह र सरकारी निकायको सहकार्यले डडेल्धुराको मौरीपालन व्यवसायमा नयाँ ऊर्जा थपिएको छ।



