
डडेल्धुरा: शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सामाजिक तथा राजनीतिक रुपान्तरण आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाका सातै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूसँग सोमबार सम्पन्न शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन सम्वन्धी छलफलमा उक्त निष्कर्ष निकालिएको हो।


कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुराका प्रमुख नारायण दत्त भट्टले शिक्षामा आउने प्रतिफल सडक निर्माणजस्तो छिटो देखिन नसक्ने भन्दै, यसको प्रभाव एक दशकपछि मात्र प्रष्ट देखापर्ने बताए।
उनले शिक्षामा थुप्रै चुनौती रहेपनि अवसरहरू पनि उत्तिकै रहेको धारणा राखे।
सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशीले शिक्षा सुधारका लागि शिक्षक र अभिभावकको भूमिका असल हुनुपर्ने बताए।


उनले शिक्षाको गुणस्तर वृद्धिमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख खडक महताले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सबै पक्ष क्रियाशील हुनुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार आगामी वर्षको शैक्षिक गतिविधि प्रभावकारी बनाउन सातै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूसँग विगतका अनुभव तथा आगामी कार्यदिशामाथि छलफल गरि नयाँ योजनाका साथ अघि बढ्ने योजना बनाइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले शिक्षा क्षेत्रको विकासलाई मात्र विद्यालयको भौतिक पूर्वाधार र विद्यार्थी संख्या वृद्धिसँग जोड्नु उचित नभएको बताए।

उनले शैक्षिक गुणस्तर वृद्धिका लागि नविनतम योजना र कार्यक्रम आवश्यक भएको बताउँदै विद्यार्थीमा सिकाइ क्षमताको विकास तथा सिक्न चाहने भावना जगाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।



