

डडेल्धुरा : नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले मणिलेक स्वास्थ्य चौकीका इन्चार्ज मीनराज धिक्तले आर्थिक हिनामिना गरेको आरोप लगाएका छन्।
वडाध्यक्ष बिष्टले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्।

वडाध्यक्ष बिष्टले शनिबार राति फेसबुकमा लगातार स्टाटस लेख्दै स्वास्थ्य चौकीका इन्चार्ज मीनराज धिक्तमाथि आर्थिक अनियमितता तथा अनैतिक गतिविधि गरेको आरोप लगाएका थिए।
उनले नवदुर्गा मणिलेकको आयोजनामा भएको बृहत् महिलाहरूको तीज कार्यक्रममा स्वास्थ्य चौकीका कुनै पनि कर्मचारी उपस्थित नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्।
‘कति ठूला कर्मचारी रहेछन्,’ भन्दै उनले आफूलाई अपमानित गरिएको आशयको स्टाटस लेखेका थिए।
अर्को स्टाटसमा उनले स्वास्थ्य चौकीका इन्चार्जले २०६९ सालदेखि हालसम्म ‘अनैतिकता तथा रकम हिनामिना’ गरेको आरोप लगाएका छन्।

त्यस्तै, वडाध्यक्षले ‘नातावाद, कृपावाद मुर्दाबाद’ भन्दै स्वास्थ्य चौकीमा भएको भनिएको ‘लुट’ लाई समर्थन गर्ने सरकारविरुद्ध समेत आक्रोश पोखेका थिए।

तर, स्वास्थ्य चौकीका इन्चार्ज मीनराज धिक्तले भने आफूविरुद्ध वडाध्यक्षले निराधार आरोप लगाएको बताएका छन्।
कुन मितिमा, कुन कार्यक्रममा, कुन शीर्षकमा र कति रकम हिनामिना गरिएको हो भन्ने स्पष्ट प्रमाणसहित आरोप पुष्टि गर्नुपर्ने उनको भनाइ छ।
‘अनैतिकता गरेको भनिएको छ, तर के विषयमा अनैतिकता गरेको हो भन्ने प्रमाण देखाउनुपर्छ,’ धिक्तले भने।
उनले वडाध्यक्षविरुद्ध सुरुमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिने र त्यहाँबाट न्याय नपाए अदालत जाने तयारीमा रहेको बताए।
यसैबीच, वडाध्यक्ष बिष्टले फेसबुकमा राखेका ती स्टाटस अहिले हटाइसकेका छन्।
स्टाटस हटाएपछि उनीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनको प्रयोगमा रहेको मोबाइल नम्बर ९८४८७२५६५१ मा फोन उठेन।

