
डडेल्धुरा : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले सञ्चालन गरेको जीविकोपार्जन सुधारका लागि भैंसीपालन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कार्यक्रमले किसानलाई व्यावसायिक भैंसीपालनतर्फ आकर्षित गर्नुका साथै दूध उत्पादन र आम्दानी बढाउन सहयोग पु¥याएको छ।
भागेश्वर र अजयमेरु गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा किसानलाई भैंसी खरिदका लागि आर्थिक तथा प्राविधिक सहयोग, पशु स्वास्थ्य सेवा तथा व्यवस्थापनसम्बन्धी परामर्श प्रदान गरिएको छ।

उन्नत जातका भैंसीपालन, पौष्टिक आहार, घाँसखेती, गोठ व्यवस्थापन तथा रोग नियन्त्रणका विषयमा समेत किसानलाई आवश्यक सहयोग दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख सुशिल ऐरीले बताए।

कार्यक्रमबाट लाभान्वित किसानहरूले भैंसीपालनबाट नियमित आम्दानी गर्न थालेका छन्। दूध उत्पादन बढ्नुका साथै स्थानीय बजारमा दूध बिक्री गर्न सहज भएपछि किसानको आर्थिक अवस्थामा समेत सुधार आउन थालेको उनीहरूको भनाइ छ।
अजयमेरु गाउँपालिका–५ चिपुरका कृषक राजबहादुर ऐडीले आफूले २०६५ सालदेखि भैंसी पाल्दै आएको बताए। २०७७ सालमा फर्म दर्ता गरेर भैंसीपालनसँगै तरकारी खेतीसमेत गर्दै आएको उनको भनाइ छ।
‘विदेश नगएर यहीँ काम गरिरहेको छु। व्यावसायिक रूपमा लागेको छु। विदेशमा कमाउने पैसा यतै कमाउन सकिन्छ कि जस्तो लाग्छ,’ ऐडीले भने। स्थानीय सरकार र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट सहयोग पाइरहेको उनले बताए।


चिपुरकै केदार कृषि तथा पशुपन्छी फर्मका कृषक लोकराज पाठकले २०५२ सालदेखि भैंसीपालन गर्दै आएको बताए। लामो समयदेखि भैंसीपालन गर्दै आएका उनले पुराना भैंसीबाट जन्मिएका पाडापाडीसमेत हुर्काउँदै आएका छन्। दूध, दही र घिउ बिक्री गरेर आफूले आम्दानी गरिरहेको पाठकले बताए।
भागेश्वर गाउँपालिका–४ की कलावती मालीले भेटेरिनरी अस्पतालको सहयोगमा एक लाख १५ हजार रुपैयाँमा दुहुना भैंसी खरिद गरेको बताइन्। उनी भूमिराज कृषक समूहमा आबद्ध छिन्।
‘भैंसी पाल्न सधैँ खुसी हुन्थेँ। दुईवटा भैंसी त जहिल्यै पाल्दै आएको हुँ। प्रतिलिटर २० रुपैयाँ दूध पर्ने बेलादेखि नै भैंसी पाल्दै आएकी हुँ,’ मालीले भनिन्। किसानलाई भैंसीपालनमा सहयोग गरेकोमा उनले भेटेरिनरी अस्पतालप्रति धन्यवादसमेत व्यक्त गरिन्।

कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगले किसानको जीविकोपार्जनमा सहजता पुगेको छ। समूहगत रूपमा ७५ प्रतिशत र व्यक्तिगत फर्मका लागि ५० प्रतिशत अनुदानमा भैंसीपालन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
आधुनिक पशुपालन प्रविधिको प्रयोग, उचित आहार तथा व्यवस्थित गोठ व्यवस्थापनले भैंसीको उत्पादन क्षमता बढाउन सहयोग पुगेको कार्यालयको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले भैंसीपालन कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै उत्पादन वृद्धि, दूध संकलन तथा बजारीकरणमा समेत किसानलाई सहयोग गर्ने जनाएको छ।
किसानलाई व्यावसायिक रूपमा भैंसीपालनमा जोड्न सके स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै दूध उत्पादनमा आत्मनिर्भर बन्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले बताए।
स्थानीय किसानका लागि आयआर्जनको भरपर्दो माध्यम बन्दै गएको भैंसीपालन कार्यक्रमलाई निरन्तरता र विस्तार गर्न सके डडेल्धुराको पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिएको छ।

