
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात व्यवस्था कार्यालय डडेल्धुराले उग्रतारा ड्राइभिङ सेन्टरसँग भएको सम्झौता खारेज गरेको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै उग्रतारा ड्राइभिङ सेन्टरसँग भएको सम्झौता खारेज गरेको जानकारी दिएको हो।

कार्यालयका अनुसार मिति २०८० मंसिर १२ गते भएको सम्झौता बमोजिम उक्त ड्राइभिङ सेन्टरको ट्रायल सेन्टर प्रयोग गर्दै आइएको थियो।

तर, पछिल्लो समय परीक्षार्थीबाट सवारी साधन प्रयोग गरेबापत अनावश्यक शुल्क लिएको भन्दै व्यापक जनगुनासो आएपछि सम्झौता तोड्ने निर्णय गरिएको हो।

कार्यालयले यसअघि पनि सम्बन्धित संस्थालाई बढी शुल्क नलिन पटकपटक मौखिक रूपमा आग्रह गरेको जनाएको छ।
तर, उक्त निर्देशनको बेवास्ता गर्दै मनोमानी ढंगले शुल्क असुली जारी राखेपछि बैशाख ३ गतेको निर्णय अनुसार सम्झौता खारेज गरिएको निमित्त कार्यालय प्रमुख बिष्णुदत्त भट्टले जानकारी दिए।
सम्झौता खारेज भएसँगै अब उक्त ड्राइभिङ सेन्टरमार्फत सञ्चालन हुँदै आएको ट्रायल सेवा बन्द हुने भएको छ।



