
डडेल्धुरा : राष्ट्रिय कुस्ती खेलमा परिचित नाम हो, शिवानी दुबे। पटकपटक पदक जितेर खुसी दिने दुबे भने आफू दुखी थिइन। कारण हो नागरिकता नहुनु।
सात वर्षसम्म कागजी प्रक्रिया, कार्यालयका ढोका र निराशाबीच अल्झिएकी शिवानीले अन्ततः अंगीकृत नेपाली नागरिकता प्राप्त गरेकी छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बिहीवार सिवाङ्गीसहित उनकी बहिनी सन्ध्या र भाइ सिशाङ्कलाई नागरिकता हस्तान्तरण गरेको हो। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार जिल्लामा पहिलोपटक आमाको नामबाट अंगीकृत नागरिकता वितरण गरिएको हो।

‘उहाँहरूले नागरिकता पाउन ७ वर्षसम्म भोग्नुभएको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन,’ नागरिकता हस्तान्तरण गर्दै कोइरालाले भने, ‘आज उहाँहरू नेपाली नागरिक भएकोमा हामी पनि गर्व गर्छौँ।’
राष्ट्रिय स्तरमा सात स्वर्ण पदक र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि रजत पदक दिलाइसकेकी शिवानीले नागरिकता नहुँदा खेल जीवनमै ठूलो अवरोध झेल्नुपरेको थियो।
नर्वेमा कुस्ती च्याम्पियनसीपका लागि छनोटको तयारी हुँदै गर्दा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी उनी निराश हुँदै फर्किनुपरेको प्रसंग अहिले पनि धेरैलाई सम्झना छ।

शिवानीका बाबु राजु दुबे भारतीय नागरिक हुन् भने आमा डडेल्धुराकी नेपाली नागरिक राधिका रोका हुन्। विसं २०५६ सालमा तुफानडाँडाबाट विवाह गरेपछि राजु नेपालमै बसोबास गर्दै आएका छन्। राजु स्वयं पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन्।
नागरिकता अभावका कारण शिवानीको पढाइ र अन्तर्राष्ट्रिय खेल अवसरसमेत प्रभावित भएको थियो। ‘नागरिकता नहुँदा म खेलाडी हुँ भन्ने प्रमाण भए पनि, म नागरिक हुँ भन्ने प्रमाण थिएन,’ विगत सम्झिँदै उनले भनिन्।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनअनुसार बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा दुवेसहित उनका भाइबहिनीले अंगीकृत नागरिकता पाएका हुन्।
नागरिकता पाएपछि शिवानी भावुक बनिन्। ‘अब ढुक्क भएर तालिम र प्रतियोगितामा भाग लिन सक्छु। मेरो खेल करियर मात्र होइन, शिक्षाको बाटो पनि खुलेको छ,’ उनले भनिन्।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी शिवानी फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसँग पराजित भएकी थिइन्।
हाल दुबे परिवार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनीमा बस्दै आएको छ। महेन्द्रनगरमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको परिवारका लागि यो नागरिकता सात वर्षको संघर्षको परिणाम हो।
‘मेरो बुवाको पसिना र आमाको आँसु बिना यो सम्भव हुने थिएन,’ शिवानीले भनिन्, ‘आजको नागरिकता हाम्रो परिवारको संघर्षको प्रमाण हो।’
तीनै सन्तानले नागरिकता पाएपछि आमा राधिकाको आँखामा खुसीको आँसु थियो।



