बोहरा मेडिको सेन्टर

लिलाधरलाई एमाले जिम्मा लगाउँदै गोरखबहादुर चन्दले पार्टी छाडे

dream cafe
learnar

डडेल्धुरा : एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहाकार समिति सदस्य  तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका छन्।

एमालेको ११औं महाधिवेशनबाट आफूलाई बाइपास गर्दै प्रतिनिधि छनोट गरिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्।

CNA

एमालेको ११औं महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनोटमा आफूलाई योजनाबद्ध रूपमा हटाइएपछि चन्दले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन्।

‘पार्टीको जिल्ला र गाउँपालिका नेतृत्व लिलाधर भट्ट, विना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै म नेकपा एमाले परित्याग गरेको घोषणा गर्दछु,’ चन्दले लेखेका छन्।

उनका अनुसार पार्टीभित्र गुटगत चलखेल, जालझेल, निरङ्कुशता, चाकरी संस्कृति र उद्देश्यपूर्ण बाइपास नै आफ्नो बाहिरिने प्रमुख कारण हो।

चन्दका अनुसार केही वर्षयता पञ्चेश्वर गाउँपालिकामा कामकाज अपेक्षाअनुसार अगाडि बढ्न नसक्नुमा जिल्ला नेतृत्वको हस्तक्षेप र नेता–कार्यकर्ता बीच अनावश्यक द्वन्द्व सिर्जना गर्नु मुख्य कारण हो।

उनले विशेष रूपमा एमाले केन्द्रीय कमिटी सदस्य लिलाधर भट्टले आफूलाई प्रतिस्पर्धी देखेर लगातार जालझेल गर्दै पार्टीबाट हटाउन खोजेको दाबी गरेका छन्।

‘मलाई प्रतिनिधि बन्न नदिने पछिल्लो कदम त्यसैको उदाहरण हो,’ उनले लेखेका छन्।

चन्दले उपाध्यक्ष विना भट्ट र केही वडाध्यक्षलाई आफूविरुद्ध परिचालित गरिएको आरोप पनि लगाएका छन्।

Bohora ma 1

चन्दले २०४७ सालमा आफ्ना गुरु स्व. उत्तमबहादुर चन्दको प्रेरणाले कम्युनिस्ट राजनीतिमा लागेको स्मरण गरेका छन्।

काठमाडौं टुँडिखेलमा तत्कालीन महासचिव मदन भण्डारीको भाषणबाट प्रभावित भएर पार्टी प्रवेश गरेको उनले उल्लेख गरेका छन्।

बादमा जीविकोपार्जनकै क्रममा शिक्षा क्षेत्रमा पुगेका चन्द १० वर्ष कुलाउ माध्यमिक विद्यालयका प्राचार्य र ५ वर्ष क्याम्पस प्रमुख रहेका थिए।

२०७४ सालमा एमाले नेता दामोदर भण्डारी र लिलाधर भट्टको आग्रहमा शिक्षण पेशा छाडेर चुनावी यात्रामा होमिएको चन्दको दाबी छ।

उनले पञ्चेश्वरका जनताले दुई कार्यकालसम्म बहुमतसहित विजयी गराएको भन्दै स्थानीय जनताप्रति कृतज्ञता समेत व्यक्त गरेका छन्।

स्टाटसमा चन्दले पार्टीभित्र चाकरी, चापलुसी र ‘झोले प्रथा’ हावी भएको आरोप लगाएका छन्।

तल्लो स्वराडका जनतालाई सधैँ भोट बैंकको रूपमा मात्रै उपयोग गरिएको आरोप गर्दै उनले लेखेका छन्, ‘हामीसँग मत मात्र लिने, चुनाव जितिसकेपछि १–२ योजना दिएर चित्त बुझाउने परिपाटी उही छ।’

भिन्न मत राख्ने नेताहरूलाई निरङ्कुश ढङ्गले कारबाही गर्ने प्रवृत्ति मौलाएको चन्दको भनाइ छ।

पार्टीभित्र लोकतान्त्रिककरणको पक्षमा निरन्तर आवाज उठाउँदा पनि सफल हुन नसकेको भन्दै चन्दले अन्ततः पार्टी छाड्न बाध्य भएको बताएका छन्।

‘अब उप्रान्त यो पार्टीमा रहेर काम गर्ने अवस्था रहेन। लिलाधरजीलाई मार्ग प्रशस्त गर्न कठिन निर्णय लिनुपर्‍यो,’ उनले लेखेका छन्।

चन्दले आफ्नो साथ दिँदै आएको पार्टीभित्रका स्वाभिमानी नेता–कार्यकर्तालाई धन्यवाद दिँदै भविष्यमा फेरि कतै भेट हुने विश्वास व्यक्त गरेका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.