सोह्रश्राद्ध अर्थात् पितृपक्ष : पूर्वजप्रति श्रद्धा र कृतज्ञताको पर्व

dream cafe
learnar
  • केशवकुमार मलाशी

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ । यस तिथि देखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।

Ird

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको हो ।

सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न सकिन्छ ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेकोे पनि छ ।

विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ ।

कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

हिन्दु धर्ममा आस्था राख्नेहरूले देवता र पितृप्रति समान श्रद्धा भाव राख्दछन् । जसरी देवकार्यका लागि पूजाआजाको महत्व हुन्छ, त्यसैगरी पितृकार्यलाई पनि विशेष महत्व दिइन्छ ।

HARDIK AGRo NEw

मृत प्रियजन तथा मान्यजनप्रति सन्ततीको झुकावले मृतआत्माले शान्ति प्राप्त गर्छन भन्ने विश्वासका साथ श्राद्ध गर्ने चलन रहिआएको छ । विशेष कार्य गर्नुअघि पितृलाई सम्झिने र भाग छुट्याउने गरिन्छ । त्यस्तै बडादशैँ सुरु हुनुअघि तिथिअनुसार मृत आत्मालाई स्मृति गर्दै श्रद्धा प्रकट गर्ने समय हो, ‘सोह्रश्राद्ध’ ।

पितृकर्म अर्थात श्राद्ध वर्षमा दुईपटक गरिन्छ । नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

ठूला माङ्गलिक कार्य गर्नु अघि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित छन् ।

चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्ध हिन्दू धर्ममा एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो ।

यस अवधिमा पितृहरूको आत्माको शान्ति, मोक्ष र परिवारको कल्याणका लागि श्राद्ध, तर्पण, पिण्डदान आदि कर्महरू गरिन्छ । पितृहरू हाम्रा पूर्वजहरू हुन, जसले हामीलाई जीवन, संस्कार र परम्परा दिएका छन् ।

हिन्दू दर्शनमा, मृत्युपश्चात् आत्मा देह त्यागेर पितृलोकमा गमन गर्छन् । ती आत्माहरूलाई पितृ भनिन्छ । पितृहरूलाई श्रद्धापूर्वक सम्झनु, सम्मान गर्नु र उनीहरूको आत्माको शान्तिका लागि कर्म गर्नु सन्तानको कर्तव्य मानिन्छ ।

हाम्रा पौराणिक शास्त्रअनुसार मृत व्यक्तिहरु मृत्यु भएको एक वर्षसम्म प्रेत मार्गमा रहन्छन् अर्थात् पितृ बनिसकेका हुँदैनन् भन्ने मान्यता छ । पितृहरु मोक्ष वा आ–आफ्नो कर्मको परिणाम स्वरुप विभिन्न ठाउँमा पुगि दुखसुख भोगीरहेका हुन्छन् भन्ने मान्यता रही आएको छ ।

जसअनुसार कोही पितृहरु स्वर्ग वा पितृलोक जस्ता ठाउँमा पुगेका हुन्छन, र उनीहरुलाई कुनै कष्ट भोग्नु पर्दैन भने केहि पितृहरु निच योनिमा जन्मेका, कुनै देहधारण गर्न नसक्ने भई वायु बनेर भौतारी रहेका वा विभिन्न नरकमा परि दुख पाइरहेका पनि हुन सक्छन् भन्ने बुझाइ छ ।

सोह्रश्राद्ध पितृहरूको सम्झनाका लागि उत्तम समय मानिन्छ । यो समयमा सूर्य कन्या राशिमा रहन्छ । सोह्रश्राद्ध सूर्य दक्षिणायन भएको बेलामा पर्दछ । यस अवधीमा गरिएको पितृ कार्यलाई पवित्र मानिन्छ ।

पितृ औँशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गरिन्छ । धर्मशास्त्र अनुसार पितृहरू सोह्रश्राद्धको समयमा पिण्ड र पानीको खोजीमा मत्र्यलोकमा आँउछन् ।

यस अवसरमा शास्त्रीय रुपमा कर्म नगरे पितृले सन्तानलाई श्राप दिई फर्कने धर्मग्रन्थहरूमा उल्लेख छ ।

हिन्दू धर्ममा तीन प्रकारका ऋणहरूको चर्चा छ—देव ऋण, ऋषि ऋण र पितृ ऋण । पितृ ऋणबाट मुक्त हुनका लागि श्राद्धकर्म आवश्यक मानिन्छ । मनुस्मृतिमा पितृ ऋणको बारेमा “ऋणानि त्रिण्यपाकुर्वन् प्रजया एव तु पण्डितः । देवेभ्यो मनुष्येभ्यः पितृभ्यश्च प्रशान्तये ।।’’

अर्थात् बुद्धिमान व्यक्ति आफ्नो सन्तानद्वारा देव, ऋषि र पितृ ऋणबाट मुक्त हुन्छ भनेर भनिएको छ। श्राद्धकर्मले पितृहरूको आत्मालाई शान्ति प्रदान गरी मोक्षको मार्ग प्रशस्त गर्छ । पितृहरूको आशीर्वादले परिवारमा आरोग्य, ऐश्वर्य र सुख प्राप्त हुन्छ । श्राद्धकर्मले धार्मिक परम्परा र संस्कारको संरक्षण गर्छ ।

श्राद्धले पितृहरूको आत्माको शान्ति, परिवारको कल्याण र धार्मिक परम्पराको संरक्षण गर्छ । पितृहरूको सम्मान गर्नु, उनीहरूको ऋणबाट मुक्त हुनु र परिवारमा सुख, शान्ति र समृद्धि ल्याउन श्राद्धकर्म गर्नु आवश्यक छ ।

गरुड पुराणमा पितृ पक्षको महत्वमा भनिएको छ “अश्विनस्य तु कृष्णे पक्षे प्रतिपत् प्रभृति यदि । पितककणां सन्ति तीर्थानि तस्मिन् काले विशेषतः’’ अर्थात, आश्विन महिनाको कृष्णपक्षको प्रतिपदादेखि पितृहरूको लागि तीर्थको विशेष महत्व हुन्छ ।

महाभारतमा पितृहरूको सन्तुष्टि र फलको बारेमा भनिएको छ– “पितरः प्रसन्नाः स्युर्भविष्यन्ति न संशयः । तस्मात् सर्वप्रयत्नेन कार्यं श्राद्धं विशेषतः ।।’’ अर्थात, पितृहरू प्रसन्न भएमा सन्तानले निश्चय नै लाभ पाउँछन् । त्यसैले सबै प्रयत्न गरेर श्राद्ध गर्नुपर्छ ।

शास्त्रीय ग्रन्थहरूमा यसको महत्व र विधिको विस्तृत वर्णन पाइन्छ । श्राद्धकर्म गर्दा पवित्र जलमा तिल मिसाएर पितृहरूको नाम उच्चारण गरी जल अर्पण गर्ने प्रक्रिया अपनाईन्छ । चामल, जौ, तिल, मह र दहीको मिश्रणबाट पिण्ड बनाइ पितृहरूलाई अर्पण गरिन्छ । श्राद्धकर्म पछि ब्राह्मणहरूलाई भोजन गराइन्छ र दान दिइन्छ ।

श्राद्धकर्मका दौरान पवित्र मन्त्रहरू उच्चारण गरी पितृहरूको स्मरण गरिन्छ । पितृहरूको आत्माको शान्तिका लागि गायत्री मन्त्रको जप गरिन्छ । ध्यान र प्रार्थना पितृहरूको स्मरण गर्दै ध्यान र प्रार्थना गरिन्छ ।

पवित्र स्थानहरूको भ्रमण स् तीर्थस्थलहरूमा गई स्नान, पूजा आदि कर्म गरिन्छ । श्राद्धकर्म गर्दा शुद्ध हृदयले, निष्कपट भावले र श्रद्धापूर्वक गर्नुपर्छ । गीतामा लेखिएको छ– “यज्ञदानतपः कर्म न त्याज्यं कार्यमेव तत् । यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ।।’’ अर्थात् यज्ञ, दान र तपस्या जस्ता कर्महरू त्याग गर्न नहुने र अवश्य गर्नुपर्ने हुन्छन् । ती कर्महरूले बुद्धिमान व्यक्तिहरूलाई पवित्र बनाउँछन् ।
पितृहरूको आशीर्वादले जीवनमा सफलता, आरोग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । स्कन्द पुराणमा भनिएको छ ः “पितककणां तु प्रसादेन देवाः प्रसादमाययुः । देवानां तु प्रसादेन प्राप्तिः सर्वत्र निश्चिता ।।’’

अर्थात् पितृहरूको प्रसादले देवताहरू प्रसन्न हुन्छन् र देवताहरूको प्रसादले सर्वत्र सफलता प्राप्त हुन्छ । महाभारत कालीन समयमा भिष्म पितामहले आफ्ना बाबू सन्तनु महाराजलाई पिण्डदान गर्दा हातमा नदिइ पिण्ड सेलाएको मान्यताको आधारमा कलि युगमा देवता र पितृहरु प्रत्यक्ष नदेखिने हुँदा पिण्डबाट पितृतृप्त होउन भनि पिण्ड सेलाउने परम्परा छ ।

यस समयमा बाबुआमा(पितृ) परलोक भएका सन्ततिहरुले सोह्रै दिन पिण्डदान आदि गर्नुपर्ने मान्यता भएपनि बाबुआमा परलोक भएको निश्चित तिथिका दिन एक दिनमात्र श्राद्ध गर्ने चलन छ ।

बाबुआमा दुबै परलोक भएको अवस्थामा बाबुको तिथिको दिनमा नै श्राद्ध गर्ने चलन छ तर आमा मात्र परलोक भइ बुवा जिवित भएको अवस्थामा मातृ नवमिको दिनमा श्राद्ध गर्ने चलन छ । कहिँ कतै बुवाले हजुर बुवाको श्राद्ध गर्ने दिनमा सम्मिलित भइ आमाको श्राद्ध गर्ने चलन पनि छ ।

श्राद्धकर्ममा दानको विशेष महत्व छ । गरीब, असहाय र आवश्यकता भएकाहरूलाई दान गर्दा पितृहरू प्रसन्न हुन्छन् भन्ने विश्वास छ । यसले सामाजिक समरसता र करुणाको भाव विकसित गर्छ ।

यद्यपि श्राद्धकर्म धार्मिक विधि हो, यसको पछाडि गहिरो दर्शन र मानवीय भावना छ । पूर्वजहरूको सम्मान, कृतज्ञता र उनीहरूबाट प्राप्त ज्ञानको कदर गर्नुपर्छ भन्ने सन्देश श्राद्धकर्मले दिन्छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् ।साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन गराइ दक्षिणा दिने गर्छन् ।

हिन्दू धर्म अनुसार चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुपूर्व पितृको पूजा गर्ने परम्परा अनुरुप यो अबधिमा हरेकले पितृलाई दशै तिहारको नाममा भाग दिने चलन छ । जसरी हामी दशैमा मिठा मिठा खानेकुरा खान्छौँ, त्यसै गरी दशैका अवसर पारी पितृहरुको लागि पनि सिदा दिने गरिन्छ ।

अघिपछिको श्राद्धमा एउटा मात्र जौ अथवा खिरको पिण्ड दिने गरिन्छ भने स्रोह श्राद्धमा सबै पितृका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ । यसरी बनाइएको पिण्ड चिल्लो र गोलो पार्दा आफ्ना सन्तति राम्रा र सुखी हुने विश्वास छ ।

यसरी पिण्ड दान कार्यमा पिण्ड पकाउदा गाईको दुध प्रयोग गर्ने चलन छ । पितृकार्य अर्थात श्राद्धको अघिल्लो दिनलाई एक छाके भनिन्छ । सो दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारि, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ । श्राद्ध गर्ने ठाउँ समेत शुद्ध हुनुपर्छ ।

हात्ती, घोडा आदि जनावर बसेको ठाउँ, खनजोत गरिएको ठाउँ र अर्काको घर श्राद्धको लागि उपयुक्त हुदैनन् भन्ने परम्परा छ । तर, आजभोलि बहालमा बसेको घरलाई समेत आफ्नै घरसरह मान्ने गरिएको छ । काग, गिद्दको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँ श्राद्ध कार्य गर्न उपयुक्त मानिन्छ ।

श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ । घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न हुन्छन् । श्राद्ध गर्ने ठाउँ नजिकै घन, झ्याम्फल, कुटो, कोदालो, काटी जस्ता फलामयुक्त सामानहरु राख्नु हुँदैन । यस्ता सामान यमराज अर्थात यमदण्डको प्रतिक भएकाले यिनलाई देखेमा पितृहरु डराइ भाग्छन, प्रवेश गर्दैनन् भन्ने विश्वास छ ।

पहिलेपहिले सोह्रश्राद्धका सोह्रै दिन श्राद्ध गर्ने प्रचलन थियो । तर अहिले सोह्रश्राद्धको कुनै एउटा दिन श्राद्ध गर्ने र बाँकी दिनहरूमा अन्य श्राद्धमा एकछाकीका दिन बारे सरह चोखोनीतो गरेर बस्ने गरिन्छ ।

सोह्रश्राद्ध व्यक्ति विशेषको श्राद्ध होइन, यो सबै मृतपितृहरूको साझा श्राद्ध हो । आमरूपमा नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ ।

तर जसलाई आफ्ना परिजनहरूको मृत्युतिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ । यस प्रकार सम्पूर्ण चराचर जगत जहाँ पनि आफ्ना पितृहरु रहेका हुन सक्छन् भन्ने धारणा राख्दै तिनलाई रसद पानी पुर्याउने तिथि नै श्राद्ध हो ।

यस पितृकार्य गरी दिइएको पिण्ड तर्पण उनिहरुको भोजनमा परिणत भइ पितृहरुले पाउँछन् भन्ने मान्यता छ । अझै यस अवसरमा विभिन्न ठाउँमा भौतारी रहेका पितृहरुलाई आ–आफ्नो ठाउँमा गइ पिण्ड पानी ग्रहण गर भनी यमराजले छुट्टीसमेत दिन्छन् भन्ने मान्यता पनि छ ।

यसरी आएका पितृहरुले ब्राम्हणलाई भोजन गराइ पिण्ड तर्पण आदी कार्य गरेको खण्डमा खुशी भइ आफ्ना सन्ततीहरुलाई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ । यदी यस्तो कार्य मंसिर सक्रान्तीसम्म पनि नभएमा अँध्यारो मुख लगाउदै दुखी भइलामो स्वास फेर्दै (निश्वासभइ) आ–आफ्नो ठाउँमा फर्कन्छन् भन्ने कुरा विभिन्न कथा र पुराणका प्रसङ्गहरुमा पाइन्छ ।

श्राद्धको दिन गीताशास्त्र पढ्यो भने पितृ खुशी हुने कुरा पनि गीता माहात्मामा उल्लेख छ। श्राद्धको समयमा शुद्ध हुनु, नहडबडाउनु र हासी खुसी रहनु श्राद्ध कार्यमा उपस्थित ब्राह्मणलाई खुवाइ पियाइ सन्तुष्ट दिलाउनु पनि श्राद्ध कार्यको मर्यादा भित्रै रहन्छ । श्राद्धका समयमा तिल, कुश, गंगाजल, मह आदि सामग्री र छोरीको छोरा नातीको उपस्थिती महत्वपुर्ण मानिन्छ ।

तिल कुश आदि देखेपछी असुरदानवी प्रवृत्तिहरुको उपस्थिति हुन सक्दैन भन्ने मान्यता छ । सोह्रश्राद्धको समयमा कुनै पनि पुजाआजाको थालनी गर्नु हुदैँन । तर पहिलेदेखी गर्दै आएको नित्यपुजा साप्ताहिक व्रतहरू भने यो समयमा पनि गर्न मिल्छ । तर यस समयमा शङ्ख घण्टको आवाज निकाल्नु राम्रो मानिदैन ।

सोह्रश्राद्ध भरि सकेसम्म रातो फूल, अविर र अक्षता प्रयोग गर्नु राम्रो मानिँदैन । श्राद्धपक्षका पन्ध्र दिन कुरो छिन्ने, विवाह र व्रतबन्ध गर्ने, गृहप्रवेश गर्ने आदि कर्म निषेधित मान्ने गरिन्छ ।

त्यस्तै मोटरगाडी, सुन, चाँदी, जग्गाजमिन आदिको खरिद गर्नु हुँदैन । सामान्यतया नयाँ व्यापार, व्यवसाय, उद्योगधन्दा वा कलकारखानाको थालनी गर्नु राम्रो नहुने मान्यता छ । त्यस्तै लामो दूरीको यात्रा पनि यस समयमा गर्नु हुँदैन भन्ने गरिन्छ ।

सोह्रश्राद्धको अवधिभर घरमा माछामासु खान र कुनैपनि प्रकारको मादक पदार्थको सेवन गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिन्डो, लसुन, प्याज,कोदो, तीते फापर, बिरेनुन, कुबिन्डो, भेन्टा,गोलभेडा लगायतका खाद्यवस्तु तथा तरकारीको प्रयोग गर्नु हुँदैन ।

त्यस्तैस श्राद्धको दिन खेतबारी जोत्न, खन्न, दाउरा काट्न, नाचगान गर्न पनि निषेध गरिएको छ । एकछाकी र श्राद्धका भएको दिन तत्काल धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन ।

यी दुबै दिन शरीरमा सुन, तेल र सावुनको प्रयोग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन । र रातमा भुइँमा एकसरो ओछ्यान लगाएर सुत्नुपर्ने शास्त्रीय मान्यता छ । पितृ पक्ष र सोह्रश्राद्धको महत्व धार्मिक मात्र नभई सामाजिक, सांस्कृतिक र नैतिक पक्षमा पनि छ ।

यसले हामीलाई कृतज्ञता, सम्मान र पारिवारिक मूल्यहरूको महत्व सम्झाउँछ । यसरी, सोह्रश्राद्ध केवल एक धार्मिक कर्मकाण्ड नभई सम्पूर्ण जीवन दर्शन, सांस्कृतिक धरोहर र सामाजिक उत्तरदायित्वको प्रतिक हो।

पितृहरूको स्मरण गर्दै सन्तानले गर्ने श्रद्धा, सम्मान र प्रार्थना नै जीवनलाई मूल्यवान् र अर्थपूर्ण बनाउने प्रमुख आधार हो।
वैदिक धार्मिक ज्ञानले जीवन जगत्को सात्विक सँसारलाई बुझने बनाईदिनुहुने ब्रह्मालिन हुनुभएका मेरा भगवानरुपी बाआमा लगायत समस्त पितृगणहरुमा सर्मपित

(लेखक मलाशी वन, वातावरण, विपद र विकास सँगै समसामयिक सामाजिक क्षेत्रमा सर्मपित रही कलम चलाउँछन।)

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.