
डडेल्धुरा : स्थानीय तहको चुनाव सम्पन्न भएको तीन वर्ष पुगेकाे छ।
तर, अमरगढी नगरपालिकामा जनअपेक्षाअनुसारको विकास र सेवा नपुगेको भन्दै २०७९ सालको स्थानीय निर्वाचनमा मेयर पदका प्रत्यासी हरिप्रसाद भट्टले गहिरो चिन्ता व्यक्त गरेका छन्।

अधिवक्ता समेत रहेका भट्टले एक सार्वजनिक सन्देशमार्फत जनताको हितमा आवाज उठाउन प्रतिबद्ध रहेको बताएका छन्।
भट्टका अनुसार, हाल अमरगढी नगरपालिकामा खानेपानी, शिक्षा, स्वास्थ्य, बेरोजगारी, सरसफाइ तथा पूर्वाधार सेवामा गम्भीर लापरवाही देखिएको छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नगरको बजेट पारदर्शिताका साथ खर्च भएको देखिँदैन, विकास योजना जनताको सरोकारबिनै कागजमै सीमित छन्।”
भट्टले जनप्रतिनिधिले जनमतको कदर नगरेको आरोप पनि लगाए।
दुई वर्षअघि फोहोरमैला व्यवस्थापनको विषयमा ज्ञापनपत्र बुझाउन गएका बेला आफू नेतृत्व गरेको टोलीमाथि नगर नेतृत्वले गरेको ‘अशोभनीय व्यवहार’ लाई उदाहरण दिँदै उनले वर्तमान नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन्।
“विजेता नेतृत्वको व्यवहार लोकतान्त्रिक मूल्य विपरीत देखिएको छ,” उनले लेखेका छन्, “यदि जनताले संगठित प्रतिरोध नगरे लोकतान्त्रिक आचरणको संरक्षणमा नै संकट आउन सक्छ।”

भट्टले आगामी दुई वर्षभित्र नगरवासीका समस्यालाई आवाज दिने, समाधानका वैकल्पिक मार्ग प्रस्तुत गर्ने र आगामी नेतृत्वको तयारी गर्ने प्रतिबद्धता जनाए।
उनले सबैलाई दम्भ र निरंकुश प्रवृत्तिको विरुद्ध एकबद्ध हुन आह्वान गर्दै भनेका छन्, “अमरगढी परिवर्तनको मोडमा छ, अबको यात्रा सजग, सचेत र संगठित हुन जरुरी छ।”
उनको भनाइमा, अमरगढीलाई सशक्त, जवाफदेही र जनमुखी नेतृत्वको आवश्यकता छ र त्यसका लागि आफू र आफ्नो टोली नगरवासीको साथमा सदैव रहनेछन्।
अमरगढीको मेयरमा नेपाली काँग्रेसका डिल्लीराज जोशी विजयी भएका थिए।
मेयरमा निर्वाचित जोशीले ३ हजार ६ सय १९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस (वीपी)का हरि भट्टले ३ हजार ४ सय २६ मत प्राप्त गरेका थिए।
यस्तो छ स्टाटस :
आदरणिय अमरगढीबासी दाजुभाइ दिदीबहिनी तथा आमाबुबाहरू,
तीन वर्षअघि सम्पन्न स्थानीय निर्वाचनमा तपाईंहरूले देखाउनुभएको विश्वास, साथ र माया प्रति म हृदयदेखि आभारी छु। यद्यपि जनताको मतले जितेको नेतृत्व आज जनताकै अपेक्षाभन्दा टाढा देखिएको छ।
आजको अमरगढीमा
* खानेपानीको समस्याले जनतालाई पिरोलिरहेको छ,
* विकासका योजनाहरू जनताको सरोकार बिना कागजमै सीमित छन्,
* युवाहरू बेरोजगारीको चपेटामा छन्,
* शिक्षा र स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बन्न सकेको छैन।
*नगरपालिकाको बजेट पारदर्शिताका साथ खर्च भएको देखिँदैन।
* सडक, ढल, सरसफाइजस्ता आधारभूत सेवामा समेत गम्भीर लापरवाही छ।
हामी सशक्त प्रतिपक्षका रूपमा जनताको आवाज बुलन्द गरिरहेका छौं र गरिरहनेछौं।
हामी बोल्छौं, जब जनताको चासो ओझेलमा पर्छ।
हामी उठ्छौं, जब अमरगढीको विकास स्थगित हुन्छ।
अबको २ वर्ष हामीले नगरवासीको हितका लागि हरेक गल्ती औंल्याउनेछौं, समाधानका वैकल्पिक मार्ग देखाउनेछौं र तपाईंहरूको साथमा एक सक्रिय, जिम्मेवार र जवाफदेही नेतृत्वको तयारी गर्नेछौं। यद्दपि अहिलेको पद्धति माथि विश्वास गर्ने हो भने विजेताहरुले प्रतिस्पर्धी माथि गर्ने व्यवहार पद्धतिका विपरीत छ। यसको जोलन्त उदाहरण २ बर्ष अगाडी फोहोरमैला व्यवस्थापन लाई लिएर मेरो न्यतृत्तो मा ज्ञापन पत्र दिन गएको टोली प्रति नगर न्यतृत्तोले गरेको अशोभनिय व्यवहार नै उदाहरणका लागि पर्याप्त छ। त्यसकारण संगठित जनताले लोकतान्त्रिक व्यवहार र आचरण को पालना नगर्ने हर कोही न्यतृत्तो लाई प्रतिरोध गर्न सकेन भने भोली को पुस्ताले लोकतान्त्रिक आचरण,संस्कार र व्यवहार यी तीनै कुराको संरक्षण गर्न नसकेको मा हामी प्रति पनि प्रश्न चिह्न लगाउन सक्छ। त्यसकारण दम्भका विरुद्ध एकाता बद्ध हुन आग्रह गर्दछु।
“अमरगढी परिवर्तनको मोडमा छ ,अबको यात्रा सजग, सचेत र संगठित हुन जरुरी छ।
सशक्त अमरगढीका लागि हामी तपाईंको साथमा छौं।”
अधिवक्ता हरि प्रसाद भट्ट
(स्थानीय चुनाव–२०७९ का मेयर पदका प्रतिस्पर्धी, अमरगढी नगरपालिका)


