
धनगढी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन्।
मंगलबार धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे।
अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार हाल देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताए।
उनले भने, ‘हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौं, बिर्सने पनि छैनौं। म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौं। यो सहिद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो।’
