सुदूरपश्चिममा पहिलो पटक गोलभेडा र काक्राको हाइब्रिड विउ उत्पादन सुरु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा पहिलो पटक गोलभेडा र काक्राको वर्णसंकर (हाइब्रिड) विउ उत्पादन सुरु गरिएको छ।

तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा विउ उत्पादन केन्द्र डडेल्धुराले उच्च प्रविधिको प्रयोग गरी हाईटेक टनेलभित्र हाइब्रिड विउ उत्पादन थालनी गरेको हो।

Amargadhi Education

केन्द्रका प्रमुख तारीसिंह ठकुराठीका अनुसार सिर्जना जातको गोलभेडा र मधु जातको काक्राको हाइब्रिड विउ उत्पादनका लागि हाल डेढ रोपनी क्षेत्रफलमा भाले र पोथी विरुवा छुट्टाछुट्टै हुर्काउने कार्य भइरहेको छ।

निकट भविष्यमा गोलभेडाका थप विरुवा रोपिने तयारी छ। ठकुराठीले भने, “सुदूरपश्चिम प्रदेशलाई हाइब्रिड विउमा आत्मनिर्भर बनाउन यो अभियानले टेवा पुर्‍याउनेछ।”

यो वर्ष पाँच किलो गोलभेडाको हाइब्रिड विउ उत्पादन गर्ने लक्ष्य लिइएको छ। पछिल्ला वर्षहरूमा छोटो समयमा बढी उत्पादन हुने भएकाले किसानहरू हाइब्रिड विउतर्फ आकर्षित भइरहेका छन्।

हालसम्म नेपालमा हाइब्रिड विउ उत्पादनको जिम्मेवारी मुख्य रूपमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सम्हाल्दै आएको थियो।

सम्भावना राम्रो देखिएकाले पहिलो पटक डडेल्धुरा विउ उत्पादन केन्द्रले हाइब्रिड मूल विउ उत्पादन थालेको ठकुराठीले जानकारी दिए।

विउ उत्पादन केन्द्रले गोलभेडा र काक्रासँगै मिनुअर्ली जातको मूला, खुमल रातो पात रायो, सिक्मी लोकल केराउ, स्थानीय धनिया र रेड क्रियोल प्याजको पनि मूल विउ उत्पादन गरिरहेको छ।

करिब ३६ वर्षअघि स्थापना भएको यो केन्द्रले पछिल्लो समय विउ उत्पादनमा विविधता ल्याउँदै आएको छ।

अजयमेरु फाैजी केरा

सुदूरपश्चिममा पहिलोपटक 
सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले सुदूरपश्चिममा पहिलो पटक गोलभेडा र काक्राको हाइब्रिड विउ उत्पादन सुरु भएको बताए।

शनिबार जोशीले सिर्जना जातको गोलभेडाको पोथी विरुवा रोपेर हाइब्रिड विउ उत्पादनको औपचारिक सुरुवात गरेका थिए।

“तरकारीमा ९० प्रतिशत विउ हाइब्रिड प्रयोग हुन्छ भने अन्य बालीमा खुला परागकण (ओपी) विउको प्रयोग हुन्छ। पहिलो पटक यहाँ हाइब्रिड विउ उत्पादन थालिएको छ र यो सफल हुनेछ,” जोशीले भने।

गोलभेडा र काक्राको हाइब्रिड विउ उत्पादन सफल भएमा भेडेखुर्सानी, भिन्डी लगायतका तरकारीको विउ पनि उत्पादन गरिने उनले बताए।

किसानलाई ५० देखि ७५ प्रतिशत अनुदान
सुदूरपश्चिम प्रदेश सरकारले तरकारीसहित धान, गहुँ, तोरी, मसुरो र उखुलगायतका बालिको विउलाई प्राथमिकतामा राख्दै वार्षिक सात करोड रुपैयाँभन्दा बढी बजेट खर्च गर्दै आएको छ।

विउ उत्पादनका लागि किसानलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदान दिने गरिएको सचिव जोशीले बताए।

“यहाँको जलवायु विउ उत्पादनका लागि उपयुक्त भएकाले सुदूरपश्चिममा उत्पादन भएको गहुँको विउ सर्लाहीदेखि झापासम्म निर्यात भइरहेको छ,” उनले भने।

कैलाली र कञ्चनपुरमा दर्ता भएका सातवटा ठूला कम्पनीसहित अन्य साना कम्पनीहरूले पनि डडेल्धुराबाट विउ खरिद गर्ने गरेको उल्लेख गर्दै उनले विउ उत्पादनमा सहकारीहरूले समेत ठूलो लगानी गरिरहेको जानकारी दिए।

वर्षमा एक करोड रुपैयाँभन्दा बढीको आयव्यय गर्ने सहकारीहरूले समेत विउ उत्पादन र व्यवसायलाई अघि बढाइरहेको जोशीले बताए।

सुदूरपश्चिमको कृषि क्षेत्रमा यो नयाँ सुरुवातले किसानलाई आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.