सुदूरपश्चिम माओवादीमा तीन गुट: शर्मा-श्रेष्ठ एकातिर, पुन अर्कोतिर

प्रचण्डको आशिर्वादले खगराज बन्लान् त दलको नेता ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई संसदीय दलको नेता फेर्ने निर्णय कार्यान्वयन गर्न पाँचाैँपटक निर्देशन दिएका छन्।

खुमलटारमा बुधबार भएको बैठकमा सांसदहरूलाई पार्टीको निर्णय कार्यान्वयन गर्न अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन्।

बैठकमा सहभागी एक सांसदले भने, ‘अध्यक्ष कमरेडले विश्वासको वातावरण म बनाउँछु। तपाईंहरू निर्णय कार्यान्वयन गरेर जानुहोस् भन्नुभयो। अध्यक्षको जोड सहमतिमा छ। सहमति गरेर छिट्टै समस्या समाधान हुन्छ होला।’

बुधबार तराई–मधेश जागरण अभियानअन्तर्गत विराटनगरमा रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफलका लागि काठमाडौं आएका हुन्।

बैठकमा दलका नेता मानबहादुर धामीले आफू पनि सहमतिका लागि तयार रहेको प्रचण्डलाई बताएको सांसद अक्कलबहादुर रावलले बताए।

उनले भने, ‘छलफल सकारात्मक भएको छ। अध्यक्ष कमरेडले बहुमतबाट होइन, सहमतिबाट समस्या समाधान गरौँ भन्नुभयो। अब सहमतिबाट समस्या समाधान हुन्छ होला।’

गत वर्ष १२ माघदेखि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ। गत वर्ष माघमा बहुमत सासंदहरूले संसदीय दलका नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाएका थिए।

पार्टी केन्द्रले मानबहादुरलाई हटाएर खगराजलाई नै दलको नेता चयन गर्न दिएको निर्देशन कार्यान्यवन भएको छैन।

गत भदौमा प्रदेशको परामर्श बैठकका लागि धनगढी पुगेका बेला पनि अध्यक्ष प्रचण्डले भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएका थिए।

दुईपटक लिखित र एकपटक मौखिक निर्देशन दिएका प्रचण्डले बैठकमा फेरि मौखिक निर्देशन दिएका थिए।

तर, संसदीय दलका नेता धामीले भने केन्द्रको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने अडान राखेपछि निर्देशन कार्यान्वयन भएन।

Alital

असार २०८० मा प्रचण्डले सांसदहरूसँग छलफल गरेर भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए।

त्यो निर्देशन न त पार्टी समितिले लागू गर्न सक्यो, न त संसदीय दलले टेर्‍यो। प्रचण्डको पहिलो निर्देशन यत्तिकै सकियो।

दोस्रोपटक प्रचण्डले फेरि सबै नेताहरूलाई बालुवाटार बोलाएर दलको नेता खगराजलाई बनाउन निर्देशन दिए।

त्यो पनि लागू भएन। विवाद मिलाउन खगराजलाई दलको नेताभन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय भयो। तर, बैठकमा भट्ट सहभागी भएनन्।

आजको खुमलटारमा भएको छलफलमा प्रदेश सांसदहरूले आ–आफ्ना कुरा राखेका सांसद अक्कलबहादुर रावलले बताए।

उनले भने, ‘पहिला हामीहरूले आआफ्ना कुरा राख्यौँ। हाम्रो कुरा सुनिसकेपछि अध्यक्ष प्रचण्डले तपाईंहरूका समस्या समाधान गरेर जान्छौँ। अहिले सहमतिमा दलको नेतामा खगराजजीलाई ल्याऊ भन्नुभयो। हामी पाँच जना अहिले पनि कन्भिन्स हुन सकेका छैनौँ। मिलेमा सहमति, नमिले फेरि पक्रियामा जान सक्छ।’

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना सासंद छन्। एक जना सभामुख भएकाले १० जना सांसद छलफलका लागि काठमाडौं आएका हुन्।

बहुमतबाट हटाए पनि अहिले भने दुवै पक्षमा पाँच/पाँच जना सांसद छन्। दलनेता मानबहादुर धामी पक्षमा ओमविक्रम भाट, अक्कल रावल, लक्ष्मी विक र गीतादेवी माल छन्।

भट्ट समूहमा रमेशसिंह धामी, शिवसिंह वली, जानकीदेवी कुँवर र झपटबहादुर साउद छन्।

सुदूरपश्चिम प्रदेशमा जनार्दन शर्मा, वर्षमान पुन र नारायणकाजी श्रेष्ठका गरी तीन समूह सक्रिय छन्। खगराज भट्ट शर्मा समूहका हुन्।

मानबहादुर धामी, अक्कलबहादुर रावल, ओमविक्रम भाट पुन समूहका हुन्। शिवसिंह वली श्रेष्ठ समूहमा छन्। भाट र धामी एक समूह चलाउँछन्।

पछिल्लो समय सुदूरपश्चिममा श्रेष्ठ र शर्मा समूह एक ठाउँमा छन्। पुन समूह अर्को पक्षमा छन्।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.