काठमाडौं : नाबालिकालाई घरेलु कामदारमा राखेकी नेकपा एमालेको लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णयप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चर्को टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले समय सबैको आउने प्रतिक्रिया दिएका छन् । लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडककाविरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।’
यस्ता विभेद, अपराध मास्न र ती कुकर्म गर्नेहरुलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्नुपर्छ भन्दै बालेनले ती बालिकालाई सान्त्वना पनि दिएका छन् ।
‘यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ,’ उनले भनेका छन् ।
घरमा बालश्रमिक राखेकी एमाले सांसद शर्मालाई मुद्दा चलाउनु नपर्ने रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।
गत भदौमा महानगरले बालुवाटारस्थित सांसद शर्माको घरबाट १४ वर्षीया एक बालिकाको उद्दार गरेको थियो ।
निकै दयनीय अवस्थामा भेटिएकी बालिकाले आफू आठ वर्षदेखि शर्माको घरमा रहेर काम गरिरहेको, यस अवधिमा परिवार भेट्न नपाएको, दशैंमा घर जान नदिएको र आफूमाथि कुटपिटसमेत हुने गरेको बताएकी थिइन् ।
छोरीको उद्दार गरेको भेटिएपछि ती बालिकाका बाबु काठमाडौं आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन समेत दर्ता गराएका थिए ।
सर्वोच्चले बालिकाको संरक्षण गर्न र अध्ययनमा कुनै अवरोध नगर्न आदेश दिएको थियो । त्यसपछि महानगरले बालश्रम गरेको भन्दै सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
सोही उजुरीको छानबिन गरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएकोमा कार्यालयले मुद्दा चलाउनु नपर्ने रायसहित फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएपछि बालेनले सामाजिक सञ्जालमा रोष प्रकट गरेका हुन् ।