CAMBRIDGE PUBLIC SCHOOL

डडेल्धुरा प्रदेश ‘ख’ मा जोशी र बोहराबीच तिब्र प्रतिष्पर्धा, कसले मार्ला बाजी?

डडेल्धुराः एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. तारा जोशी आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा डडेल्धुरा प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्लसँग झिनो मतान्तरले पराजीत जोशी यसपटक टिकट पाउनेमा विश्वस्त थिए।

तर, प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन्। गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभा र डडेल्धुरा प्रदेश ‘ख’ काँग्रेसको भागमा प¥यो भने डडेल्धुरा प्रदेश ‘क’ नेकपा माओवादी केन्द्रको भागमा।

टिकट नपाएपछि जोशीले नेकपा एसबाट राजीनामा दिए। र, स्वतन्त्र उम्मेदवारी घोषणा गरे। पार्टीबाट राजीनामा दिए पनि जोशीलाई नेकपा एसले समर्थन गरेको छ। नेकपा एसले प्रतिनिधि सभामा नेपाली काँग्रेस बिपीलाई सघाउने र उसले प्रदेश सभा ख मा जोशीलाई सघाउने सर्तमा तालेमल गरेको छ।

लोकप्रिय नेताको छबि बनाएका जोशीको उपस्थितिले डडेल्धुराको निर्वाचन रोचक हुने अनुमान गरिएको छ। उनीसँग अब गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता गोविन्द बोहरा प्रतिष्पर्धामा छन्। बोहरा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री समेत हुन्। एमालेबाट गजेन्द्र शाही पनि प्रतिष्पर्धामा रहेका छन्।

बोहरा र जोशीको तीब्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ। काँग्रेस निकट एकता नेता भन्छन्, ‘स्थानीय तहको नतिजा हेर्ने हो भने डडेल्धुरामा काँग्रेस आफैं बलियो छ। त्यसैमा माओवादीको साथ पनि  छ। तर, अहीले गठबन्धन भन्दा पनि जनता सचेत भइसकेका छन्। जोशी पपुलर र जनतासँग नजिक भएको कारण जोशी र उहाँ (गोविन्द) को तीब्र प्रतिष्पर्धा हुने अनुमान हामीले पनि गरेका छौं।’

को हुन् तारा?
‘भिजन डडेल्धुरा’ का अभियान्ता जोशी फार वेस्टर्न एग्रो जाईन्ट लिमिटेड कम्पनीका संस्थापक अध्यक्ष समेत हुन्। फार वेस्टर्न एग्रो जाईन्टले डडेल्धुरामा भटमास प्रसोधन उद्योग सञ्चालन गरिरहेको छ। जसको तयारी अन्तिम चरणमा रहेको छ।

जोशी डडेल्धुरा बिमानस्थलका अगुवा समेत हुन्। नेकपा एमाले बिभाजन भएर दुई टुक्रा हुँदा डडेल्धुरामा बिमानस्थल बनाउने सर्तमा मात्रै उनी माधव कुमार नेपालको नेकपा एस तर्फ लागेको उनी निकट नेता बताउँछन्।

काँग्रेस बिपीका बरिष्ठ उपसभापति कर्णबहादुर मल्ल भन्छन्, ‘२०७० सालमा उहाँ (तारा जोशी)कै पहलमा डडेल्धुरामा एयरपोर्ट बनाउन सुरु गरिएको हो। अहिले बिमानस्थल निर्माणका लागि बजेट समेत बिनियोजन भएको छ।’

‘एउटा गरिबको छोरा जनताको असल जनप्रतिनिधि हुने इच्छा चाहानामा हुनुहुन्छ। पढेलेखेको उहाँलाई जागिर खानू कुनै ठूलो कुरा होइन्। तर, हामी आफ्नो मान्छेलाई हेप्छौं। अहिले सागर ढकाल भन्दै पछि लागेका छौं। तर, ढकाल भन्दा जोशीमा के कमी छ र? त्यसैले यसपटक उहाँलाई जिताउनु पर्दछ,’ उनले भने।

२७ चैत्र २०२७ मा गन्यापधुरा गाउँपालिकाको बामनगाउँमा बुवा भवानी दत्त जोशी र आमा हरिनादेवी जोशीको जेष्ठ सन्तानका रूपमा जोशीको जन्म भएको हो। भुवनेश्वरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट आईकम गरेका थिए।

कर्ण मल्ल भन्छन्, ‘म राती १० बजेसम्म पढेर सुत्थे। अनि उहाँ पढ्नु हुन्थ्यो।

सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बिए पास गरेका उनले एमए भने भारतको कुमाऊँ विश्व विद्यालय नैनीतालबाट गरेका हुन्।

भारतको प्रतिष्ठीत जवाहरलाल नेहरू विश्वविद्यालयबमट एम फिल र विद्या बारिधि पिएचडी अन्तराष्ट्रिय सम्बन्धमा २०६८ सालमा सकेका हुन्।जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियु प्रवेशसंगै भएको थियो। २०४६ सालमा पञ्चायती शासनकाविरुद्ध आन्दोलन चल्दै गर्दा कैलाली बहुमुखी क्याम्पसमा उनले विद्यार्थीसँगै निरंकुशताको विरुद्ध आन्दोलन गरे।

जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मावि बडालमा शिक्षकको रूपमा काम गरे। २०४७ तिरै जोशीले बिरभद्र माध्यमिक विद्यालय हालको नबदुर्गा गाउँपालिका कोटेलीमा शिक्षण पेशा गरे। आलितालको दुर्गा माविमा समेत शिक्षण पेशामा केही समय विताए।

उनले त्यही समयमा संगठनको कामसँगै भुवनेश्वरी मावि बड बसन्तपुरमा शिक्षण पेशामा ४ वर्ष माध्यमिक तहमा अंग्रेजी विषयको कुशल शिक्षकको जिम्मेवारी सम्हाले।

२०५१ देखि २०५३ सम्म डडेल्धुरा काठमाण्डौं सम्पर्क मञ्चको सदस्य हुँदै काठमाण्डौं केन्द्रित राजनीति गरे। २०५३ सालमा डडेल्धुरा आउँदै गर्दा नेकपा एमालेले उनलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी दियो।

एक वर्षे जिल्ला कमिटी चलाउदै गर्दा २०५४ मा उनले नेकपा एमालेको जिल्ला सचिवको रूपमा २०५८ सम्म पार्टीको जिम्मेवारी सम्हाले २०५९ साल देखि २०६३ सम्म जिल्ला कमिटी सदस्यको रूपमा काम गरे २०६३ को आन्दोलन चल्दै गर्दा पूर्व तत्कालिन राजा ज्ञानेन्द्र शाहले नगरपालिकाको चुनाव घोषणा गरे।

त्यसकाविरुद्ध आन्दोलनमा उत्रिएका डडेल्धुराका राजनीतिक कर्मीलाई पुलिसले गिरफ्तार गर्यो। जोशी २५ दिनका लागि जेल चलान भए। अन्तिममा आएर राजा ज्ञानेन्द्रले नगरपालिकाको नौटंकी चुनाव स्थगित गरे।

०६२÷०६३ को आन्दोलनको बेला तारा जोशीलाई पुनः प्रहरीले गिरफ्तार गरे। २६ दिनको राजतन्त्रका विरुद्ध आन्दोलन गरेको आरोपमा कारागार चलान गर्यो। आन्दोलन चल्दै गर्दा देशमा लोकतन्त्र आएपछि जोशीलाई कारागारबाट मुक्त गरियो।

उनी २०६९ मा नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए। २०७० सालको संविधान सभा चुनावमा होमीएका उनी पराजित भए। २०७१ मा पुनः एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।

उनले उपक्षेत्रीय आन्दोलनको नेतृत्व गरेका थिए भने राष्ट्रिय परिक्षा बोर्ड डडेल्धुराको एकलौटी भर्ती बिरुद्धको आन्दोलनमा समेत होमिएका थिए।

को हुन् बोहरा?
बोहराको जन्म विस २०१८ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी घटाल (चम्साल) मा भएको हो। प्राथमिक शिक्षा घटाल माध्यमिक विद्यालयबाट लिएका उनले माध्यमिक शिक्षा भने महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट लिएका थिए।

उनले कैलाली बहुमुखी क्याम्पसमा आईए पढ्दै गर्दा राजनीतिक करियर सुरू गरेका थिए। कैलाली बहुमुखी क्याम्पसमा उनी स्ववियु उपसभापतिसमेत बनेका थिए। २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएरसमेत उनले काम गरेका थिए।

उनलाई देउवाका अति विश्वासिला पात्रका रूपमा लिइन्छ। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी चार पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र चार पटक महासमिति सदस्यसमेत भइसकेका छन्।

डडेल्धुरा प्रदेश (ख) बाट प्रदेश समानुपातिक सांसद बनेका बोहरा अहिले सुदूरपश्चिमका समाजिक विकास मन्त्री समेत हुन्।

Leave A Reply

Your email address will not be published.