हिक्मत सिह
डडेल्धुराः आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसलाई डडेल्धुरामा चुनौती थपिएको छ । २०७४ को निर्वाचनमा डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिका मध्ये एक नगरपालिका र तीन गाउँपालिकामा विजय भएको काग्रेसले पुरानो विरासत जोगाउन निकै मेहेनत गर्नुपर्ने देखिएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुख पदमा नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।
गत चुनावमा नेपाली काग्रेसका भिम बहादुर साउद संग झिनो मतले पराजित हुनुभएका नेकपा माओवादी केन्द्रका शेर सिंह माल डायमण्ड चुनावि मैदानमा हुनुहुन्छ । उहाँसंग नेपाली काग्रेसका भरत जोशी र नेकपा एमालेका केशब बोहराको त्रिपक्षिय प्रतिस्पर्धा रहेको छ ।
जिल्ला सदुरमुकाममा रहेको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपि) को मुख्य प्रतिस्पर्धा रहेको छ । गत निर्वाचनमा नगर प्रमुख, उपप्रमुख सहित बहुमत वडा विजयी भएको नेकपा एमाले यस पटक नेपाली काग्रेस (विपी) संग तालमेल गरेर उपप्रमुखमा चित्त बुझाउदै नगरप्रमुखमा विपि काग्रेसलाई समर्थन गरेको छ ।
नेपाली काग्रेसबाट २०७४ को निर्वाचनमा पराजित हुनुभएका नगरप्रमुखका उमेदवार डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल पुनः उमेदवार रहनु भएको छ । नेपाली काग्रेस र विपी काग्रेसबीच कडा प्रतिस्पर्धा रहने स्थानीयको आकलन छ ।
एक कार्यकाल उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएका नेकपा एकीकृत समाजवादी पार्टीबाट संगिता भण्डारी पनि नगरप्रमुखमा बलियो उम्मेदवारको रूपमा देखिनु भएको छ । महिला नेतृत्व भएका कारण सहानुभुतिका भोटहरू बढ्ने देखिएसँगै जितको नजिक पुगेको नेकपा एसका नेता सकुन्तला नगरकोटीले बताउनुभयो ।
भण्डारी २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका पार्वती झुकाललाई परजित गर्दै उपप्रमुखमा हुनुभएको थियो।
यस्तै नवदुर्गा गाउँपालिकामा नेकपा एकिकृत समाजवादी, नेपाली काग्रेस र नेपाली काग्रेस विपि बिच त्रिपक्षिय प्रतिस्पर्धा रहेको छ । नवदुर्गा गाउँपालिकामा यस अघि नेकपा एमाले संग नेपाली काग्रेसले पराजय भोगेको थियो ।
आसन्न निर्वाचनमा नेकपा एकिकृत समाजवादीका कबिन्द्र बिष्ट, नेपाली काग्रेसका लक्ष्मी अवस्थि र नेपाली काग्रेस विपिका गोकुल शाही बिच कडा प्रतिस्पर्धा रहेको नेपाली काग्रेस विपिका जिल्ला संयोजक तिलक हमालले बताउनुभयो ।
प्रधानमन्त्री शेर बहादुर देउवाको गृह पालिका रहेको गन्यापधुरा गाउँपालिकामा विपि काग्रेसले एमाले संग तालमेल गर्दै चुनावमा होमिएको छ । सो पालिकामा प्रधानमन्त्री देउवाको गृह वडामा नै काग्रेस कमजोर रहेको नेपाली काग्रेसका निवर्तमान सभापति कर्ण मल्ल बताउनुहुन्छ ।
मल्लका अनुसार गन्यापधुुरा गाउँपालिकामा विपि काग्रेसले प्रधानमन्त्री देउवाको वडा सहित पालिकामा विपि काग्रेस र एमाले गठबन्धन विजय हुने दावि रहेको छ । नेपाली काग्रेसका जिल्ला सभापती भिम बहादुर साउद भन्नुहुन्छ, काग्रेसका क्रियासिल कार्यकर्ताहरु अन्तिममा नेपाली काग्रेस र रुखमा नै भोट हाल्ने भएकाले जिल्लाका बहुमत पालिका र वडाहरुमा काग्रेसले विजय हात पार्छ ।
प्रधानमन्त्रीको गृह जिल्ला भएका कारण पनि अझ प्रभाव रहेको बताउदै दुई वटा नगरपालिका सहित तीन वटा गाउँपालिका आलिताल, भागेश्वर र गन्यापधुरा गाउँपालिकामा नेपाली काग्रेसको जित सुनिश्चित भएको सभापति साउदले बताउनुभयो ।
२०७४ को निर्वाचनमा नेपनली काग्रेसले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र भागेश्वर गाउँपालिकामा जित हात परेको थियो । नेकपा एमाले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा विजयी भएको थियो भने नेकपा माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा जित हात पारेको थियो ।
यस पटकको निर्वाचनमा नेपाली काग्रेस एकल रुपमा निर्वाचनमा हामिएको छ भने नेकपा एमाले र नेपाली काग्रेस (विपी) ले सातवटै स्थानीय तहमा तालमेल गरेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले अजयमेरु गाउँपालिकार गन्यापधुरा गाउँपालिकामा गठबन्धन गरेको छ भने अन्य पालिकामा एकल रुपमा चुनावमा सहभागी भएको छ ।