CAMBRIDGE PUBLIC SCHOOL

एमाले डडेल्धुराको अध्यक्ष बन्न शाही र स्नेही मैदानमा, के भन्छन् ?

डडेल्धुराः नेकपा एमाले डडेल्धुरालाई जिल्ला अधिवेशनको चटारो छ।

परशुराम नगरपालिकाको रगंमैदानमा यही चैत ५ गते हुने अधिवेशन नजिकिएसँगै नेता कार्यकर्ताको व्यस्तता बढेको छ।

जिल्लाको नयाँ नेतृत्व चयन हुने भएकाले पनि एमालेजनमा अधिवेशनको विशेष चासो छ। एमाले डडेल्धुराको नेतृत्वमा दुई पक्षिय भिड्न्त हुने निश्चित छ।

एमाले नेता गजेन्द्र शाही  र चक्रप्रसाद स्नेहीले अध्यक्षमा दाबेदारी प्रस्तुत गरिसकेका छन्।  एमाले डडेल्धुरामा नेताहरूको शक्ति स्वार्थका कारण गुटगत लडाइँ प्रस्टै देखिएको छ।

तर, चुनाव भएमा गलत सन्देश जाने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा एमाले कार्यकर्ताले जोड दिएका छन्।

अधिवेशनको उद्घाटन गर्न एमाले केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीसँगै केन्द्रीय सचिव लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश इन्चार्ज छवीलाल विश्वकर्मालगाएतका नेताहरू आउँदै छन्।

जिल्ला अधिवेशनमा २३० प्रतिनिधि चयन भइसकेका र ५ प्रतिशत जिल्ला कमिटीबाट मनोनित हुने संयोजक शाहीले बताए। उनकाअनुसार सम्पूर्ण तयारी पूरा भएको र समयमै अधिवेशन उद्घाटन हुनेछ।

के भन्छन् शाही ?
शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्। उनी त्यसपछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए।

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा  सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए।

उनी ०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए। संक्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही अहिले जिल्ला संयोजकको रूपमा रहेका छन्।

शाही युवा नेता हुन्। युवा पंक्ति र पार्टी भित्र लोकप्रिय छवी बनाएका उनलाई नै सर्वसम्मत बनाउन छलफल समेत चलिरहेको एमाले वृत्तमा चर्चा छ।

अध्यक्षका दाबेदार शाहीले आफू जन्मजात इमान्दार, अनुशासित र लगनशिल भएर संगठनमा लागेको योद्धा भएको बताए।

पार्टीलाई ०८४ सम्म व्यवस्थित बनाउने उनको दाबी छ।

उनले पुरानो पुस्ता र नयाँ युवा जेनेरेसनलाई जोड्ने कार्य मध्य युवा पंक्तिले गर्ने भएकोले पार्टीलाई सबैको साझा मञ्च र डडेल्धुराको आर्थिक समुद्धि गर्नलाई आफ्नो उम्मेदवारी रहेको बताए।

उनी भन्छन्, ‘जिल्लामा पार्टी तहसनहस भएको बेला पार्टी सम्मालेको छु। तदर्थ समितिको संयोजक भएको छु। अब कार्यकर्ताबाट  अनुमोदन हुनका लागि अध्यक्षको उम्मेदवार हुँ।’

के भन्छन् स्नेही ?
स्नेही २०४३ सालमा सिद्धनाथ माध्यमिक विद्यालय जोगबुढामा कक्षा ८ मा पढ्दा अनेरास्ववियुमा आवद्ध भएका थिए। उनी ०४९ मा सत्यवादी मावि बझाङमा प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए।

उनी ०५०मा शीर्ष गाउँ कमिटी सचिव, ०५१ मा तत्कालिन इलाका नम्बर ६ संयोजक र एमाले डडेल्धुराको पहिलो जिल्ला अधिवेशन प्रतिनिधि भएका थिए।

जातिय उत्पीडित मुक्ति समाजको महाधिवेशन प्रतिनिधि र अञ्चल कमिटीका सचिव हुँदै ०५६ एमाले जिल्ला कमिटी सदस्य भएका थिए, उनी। उनी ०५६ देखी लगातार ५ पटक जिल्ला कमिटीमा सदस्य भएका थिए।

०६५ मा एमाले अञ्चल कमिटी सदस्य भएका स्नेही ०७४ मा संघीय संरचना पश्चात एमाले प्रदेश कमिटी सदस्य भएका थिए।

नेकपा विभाजन पश्चात् केन्द्रीय कमिटी सदस्य भएका उनी एमाले अधिवेशन पश्चात् पुनः प्रदेश कमिटी सचिवालय सदस्य भएका थिए।

उनी ०५४मा अखिल नेपाल किसान महासंघको महाधिवेशन प्रतिनिधि र केन्द्रीय कमिटी सदस्य भएका थिए भने मुक्ति समाजको केन्द्रीय सदस्य र राष्ट्रिय सभाको पहिलो निर्वाचनमा ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका थिए।

अध्यक्षका दाबेदार स्नेहीले नेकपा एमाले डडेल्धुराको परस्थिती दिन प्रतिदिन नाजुक भइरहेकोले पार्टीलाई व्यवस्थित, एक ढिक्का, टुटफुट र गुटलाई निस्तेज गर्न र पार्टीबाट विभाजित भएर अलग्गै बसेकालाई एकजुट गरेर एक ढिक्का बनाउने उद्येश्यले उम्मेदवारी घोषणा गरेको बताए।

‘पार्टीले जुन ०८४ मिसन लिएको छ, त्यो मिसनलाई सफल पार्नका निमित्त, विभिन्न साना घटकमा रहेका बामहरूलाई एकता गर्न र डडेल्धुरा जिल्लामा पार्टीलाई सुव्यवस्थित र संगठित र जनतामा आधारित बनाउन र पार्टीलाई टोल स्तरमा विस्तार गर्नका निमित्त मेरो उम्मेदवारी हो,’ उनले भने।

उनी   ०८४ मा  एक नम्बर पार्टी बनाउने बताउँछन्। उनी भन्छन्, ‘सबै प्रतिनिधि, नेता र पार्टीका सुभचिन्तकहरू सबैले एक मतका साथ सर्वसम्मत मलाई अनुमोदीत गर्छन्। अन्तिम चरणसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न रहन्छ।’

Leave A Reply

Your email address will not be published.