

डडेलधुरा : कुनै समय २० पैसामा एक कप चिया पाइन्थ्यो । एक रुपैयाँमा २० गोटा मिस्री किन्न पाइन्थ्यो । जंगलको बीचमा रहेको एउटा सानो पसलमा चिया पिउन र आवश्यक सामान किन्न टाढाटाढाबाट मानिस आइपुग्थे । पैदल यात्रुका लागि त्यो पसल किनमेल गर्ने ठाउँ मात्रै होइन थकाइ बिसाउने र भोक मेटाउने बिसौनी पनि थियो ।
समय फेरिएको छ । २० पैसाको चिया बेच्ने त्यो पुरानो समय इतिहास बनेको छ । पसल थपिएका छन्, सडक विस्तार भएको छ, यातायातका साधन बढेका छन् । तर, कुनै समय मानिसको भीडले भरिने त्यही ठाउँमा अहिले व्यापारीहरू ग्राहकको प्रतीक्षामा दिन बिताउँछन् ।

यो डडेलधुरा अमरगढी नगरपालिका-१ मा रहेको स्याउले बजारको बदलिँदो कथा हो । कुनै समय सुदूरपश्चिमका सात पहाडी जिल्लाको साझा थलो थियो, स्याउले ।
नुन किन्न आउनेदेखि घिउ र गुड बेच्न आउनेसम्मको भेट यहीँ हुन्थ्यो । भेडाबाख्रा चराउँदै हिँड्ने गोठाला, टाढाका गाउँबाट पैदल झरेका बटुवा र व्यापारका सिलसिलामा आवतजावत गर्ने मानिसका कारण बजार सधैँ चलायमान रहन्थ्यो । अहिले भने यसको रौनक हराउँदै गएको छ ।
पसलका सटर खुल्छन्, सामान सजाएर राखिन्छन् । तर, किनमेल गर्ने ग्राहकको चहलपहल देखिँदैन । व्यापारीहरू पसलमा बसेर घाम ताप्दै दिन बिताउँछन् । मेला र जात्राका दिनबाहेक बजारमा मानिसको बाक्लो उपस्थिति देखिन छाडेको छ ।

स्याउले बजारको पुरानो इतिहास सम्झँदा भक्तबहादुर दियालको स्मृतिमा सबैभन्दा पहिले आफ्ना बुवाले सञ्चालन गरेको त्यही एउटा पसल आउँछ । अहिले बजार सुनसान हुँदै गएको देखिरहेका उहाँका लागि स्याउलेको पुरानो रौनक सम्झनु विगतको एउटा जीवन्त यात्राजस्तै छ ।
उहाँका बुवाले २०२० सालदेखि यहाँ व्यापार सुरु गर्नुभएको थियो । त्यतिबेला जंगलको बीचमा एउटा मात्रै पसल थियो । बजार भन्ने नाम पाइसकेको थिएन । पसलमा आउने ग्राहक पनि टाढाटाढाका गाउँबाट पैदल हिँडेर पुग्थे ।
‘२०२० सालतिर बुवाले व्यापार गर्नुहुन्थ्यो । सुरुमा हाम्रो मात्रै पसल थियो । २० पैसाको एक कप चिया बिक्री हुन्थ्यो । एक रुपैयाँमा २० गोटा मिस्री पाइन्थ्यो,’ भक्तबहादुर विगत सम्झनुहुन्छ ।
२०२५ सालतिर अरू पसल पनि थपिन थाले । एउटै पसलबाट सुरु भएको व्यापारिक गतिविधि विस्तारै बजारमा परिणत हुँदै गयो । पसल थपिएसँगै ग्राहकको आवागमन र व्यापारिक चहलपहल पनि बढ्यो । त्यतिबेला स्याउलेमा नुन, गुड, घिउ, नरिवल, मिस्रीलगायत दैनिक उपभोग्य वस्तुको व्यापार हुन्थ्यो । चिया र खोया मिठाई बढी बिक्री हुने वस्तु थिए ।
टाढाका गाउँबाट आउने मानिसले आवश्यक सामान यहीँ किन्थे । कतिपयले बाटोको थकाइ मेटाएर मात्रै यात्रा अघि बढाउँथे । तर, जंगलको बीचमा व्यापार गर्नु सहज थिएन । साँझ परेपछि बाघको डरले पसल बन्द गरेर घर फर्किनुपर्ने अवस्था थियो । अहिलेको जस्तो बत्ती, सडक र यातायातको सुविधा थिएन । पसल सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण थियो । तैपनि ग्राहकको निरन्तर आवागमनले व्यापार चलिरहेको थियो ।
सडक आयो, पैदलयात्रु हराए
स्याउले बजारको पुरानो रौनक बदलिनुमा सडक र यातायातको विस्तारलाई स्थानीयले प्रमुख कारणका रूपमा लिन्छन् । स्थानीयका अनुसार २०२४ सालतिर कच्ची सडक पुगेपछि यस क्षेत्रको आवागमनमा परिवर्तन आउन थालेको थियो । त्यतिबेला सडकमा गाडी देखिनु नै नयाँ अनुभव थियो ।

सुरुमा एक÷दुई ट्रिपर र शक्तिमान गाडी आएका थिए । ती गाडी नेपाली चालकले नभई भारतीय सरदारहरूले चलाएर ल्याएको भक्तबहादुर सम्झनुहुन्छ । सडकले मानिसको यात्रा सहज बनायो । घण्टौँ र दिनौँ पैदल हिँड्नुपर्ने बाध्यता घट्दै गयो । तर, पैदलयात्रुको बिसौनीका रूपमा स्थापित स्याउले बजारले विस्तारै आफ्ना पुराना ग्राहक गुमाउन थाल्यो ।

पहिले टाढाबाट आउने मानिस बाटोमै पर्ने बजारमा रोकिन्थे । नुन, गुड, घिउलगायत सामान किन्थे । चिया पिएर थकाइ मार्थे । अहिले भने गाडी र मोटरसाइकलमा यात्रा गर्नेहरू आफूलाई पायक पर्ने ठूला बजारसम्म पुग्न सक्छन् । बाटोमा पर्ने साना बजारमा रोकिनुपर्ने बाध्यता छैन ।
यसरी यातायातको सहजताले मानिसको यात्रा छोट्याए पनि स्याउलेका व्यापारीको व्यापार भने खुम्चिँदै गएको छ । १८ वर्षदेखि व्यापार गर्दै आउनुभएका डम्बरबहादुर दियालले पहिलेको व्यापार र अहिलेको अवस्थाबीच ठूलो अन्तर देख्नुभएको छ । बुवाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिइरहनुभएका उहाँका लागि अहिले पसलमा ग्राहक कुर्नु दैनिकी बनेको छ ।
‘पहिले पैदल हिँडेर आउने ग्राहक अहिले सवारीसाधनमा यात्रा गर्छन् । बाटोमा पर्ने बजारमा रोकिनुपर्ने बाध्यता छैन । जसले गाडीसँगै दौडिन सक्यो, उसको व्यापार हुन्छ । नसक्नेले घाम तापेर बस्नुपर्ने अवस्था छ,’ उहाँ भन्नुहुन्छ ।
उहाँको भनाइमा अहिले व्यापार गर्न पहिलेभन्दा बढी प्रतिस्पर्धा छ । ग्राहकलाई आकर्षित गर्न नसक्ने साना व्यापारीका लागि व्यवसाय टिकाइराख्नै कठिन हुन थालेको छ ।
गाउँ रित्तिँदै गए, बजारका ग्राहक पनि हराए
स्याउले बजारको व्यापार घट्नुको अर्को कारण पहाडी गाउँबस्तीबाट भइरहेको बसाइँसराइ पनि हो । पहिले बैतडी, डोटी, अछाम, बझाङलगायत जिल्लाका गाउँबाट मानिस किनमेलका लागि यहाँ आइपुग्थे । गाउँमा मानिसको बाक्लो उपस्थिति थियो । खेतीपाती, पशुपालन र स्थानीय उत्पादनसँग जोडिएको आर्थिक गतिविधिले बजारलाई चलायमान बनाउँथ्यो ।
अहिले रोजगारी, शिक्षा, स्वास्थ्य र सुविधाको खोजीमा गाउँ छाड्ने क्रम बढेको छ । गाउँमा बसोबास गर्ने मानिसको संख्या घट्दै जाँदा बजारमा आउने ग्राहक पनि कम भएका छन् । गाउँमा उपभोक्ता नै घटेपछि बजारको व्यापारमा त्यसको असर देखिनु स्वाभाविक भएको व्यापारीहरूको अनुभव छ । पहिले गाउँबाट आउने मानिसको किनमेलले बजार धानिन्थ्यो । अहिले गाउँबाट आउने ग्राहकको संख्या घटेको छ ।
बजारमा पसल र सामान भए पनि किन्ने मानिसको अभाव छ । व्यापारी दलबहादुर ऐर पनि यही समस्या भोगिरहनुभएको छ । अहिलेको मौसममा स्याउलेमा अमिला, सुन्तला र ओखरजस्ता फलफूल पाइन्छन् । स्थानीय उत्पादन र व्यापारिक सामान उपलब्ध भए पनि बिक्री भने अपेक्षाअनुसार हुँदैन ।
‘पहिलेको तुलनामा अहिले व्यापार निकै घटेको छ । मेला र जात्राका बेला मात्रै बजारमा केही चहलपहल हुन्छ । अरू दिन पसलमा बसेर ग्राहक कुर्नुपर्छ । व्यापार नभएर घाम तापेर बस्नुपर्ने अवस्था छ,’ ऐर भन्नुहुन्छ, ‘बजारमा सामानको अभावभन्दा पनि ग्राहकको अभाव ठूलो समस्या बनेको छ। पसलमा बिक्रीका लागि सामान राखिएका छन् । तर किनमेल गर्न आउने मानिस नै कम छन् ।’
बाजेको व्यापार, बुवाको निरन्तरता, छोराहरू विदेशमा
स्याउले बजारको सुस्ताउँदै गएको व्यापारले पुस्तौँदेखि व्यवसाय गर्दै आएका परिवारको भविष्यसमेत प्रभावित बनाएको छ । कुनै समय बाजेले सुरु गरेको व्यापार बुवाले धाने ।
त्यसपछि छोराहरूले पनि पुख्र्यौली व्यवसायलाई निरन्तरता दिने अपेक्षा थियो । तर, बदलिँदो आर्थिक अवस्था र व्यापारमा आएको मन्दीले नयाँ पुस्तालाई यो पेसामा टिकाइराख्न सकेको छैन । व्यापारबाट परिवारको खर्च धान्न कठिन हुन थालेपछि युवाहरू वैकल्पिक रोजगारीको खोजीमा छन् । कतिपयका छोराहरू विदेश पुगेका छन् ।
भक्तबहादुर दियालका छोराहरूले पनि पुख्र्यौली व्यापारलाई निरन्तरता दिनुको सट्टा विदेशको बाटो रोजेका छन् । कुनै समय एउटा पसलबाट सुरु भएको व्यापारले परिवारको जीविकोपार्जन धानेको थियो । अहिले त्यही व्यापारबाट नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने विश्वास घट्दै गएको छ ।

