डडेल्धुरा अस्पताल अस्तव्यस्त, मेसु काठमाडौंमै मस्त, पाँच महिनादेखि एक्स–रे ठप्प
अस्पतालमा रक्सी बोतलदेखि कोटेशन काण्डसम्म, जिम्मेवार मेसु सम्पर्कविहीन


डडेल्धुरा : संघीय सरकार मातहत सुदूरपश्चिमको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल भनेर चिनाइएको डडेल्धुरा अस्पताल अहिले बिरामीका लागि भरोसा होइन, बाधा बनेको छ।
पाँच महिनादेखि एक्स–रे सेवा ठप्प हुँदा सामान्य चोटपटकदेखि गम्भीर अवस्थाका बिरामीसमेत उपचारविहीन बन्न बाध्य छन्।

डोटीको शिखर नगरपालिका–१० बानेडुङ्ग्रसैनका अर्जुननाथ योगी यसको ज्वलन्त उदाहरण हुन्। सडकमा हिँड्दै गर्दा मोटरसाइकलले ठक्कर दिएपछि खुट्टामा गम्भीर चोट लागेका योगीलाई परिवारले ६ हजार रुपैयाँ खर्चेर डडेल्धुरा अस्पताल पुर्यायो।
तर, अस्पताल पुगेपछि चिकित्सकले ‘एक्स–रे सेवा नै छैन’ भन्दै उपचार असम्भव भएको बताए। बाध्यतावश योगी फेरि डोटी फर्कनुपर्यो।
उनका छोरा चन्द्रनाथ भन्छन्, ‘बुवा घाइते अवस्थामा यता–उता धाइरहँदा निजी औषधि, गाडी भाडा र अनावश्यक यात्रामा ठूलो खर्च भयो। पीडामाथि पीडा थपियो।’
यो कुनै एक घटनामात्र होइन। दैनिक डडेल्धुरा अस्पताल पुग्ने बिरामी एक्स–रे गर्नकै लागि अस्पतालबाट फर्काइन्छन्।
संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका सात पहाडी जिल्लाको मुख्य रेफरल अस्पताल मानिन्छ। तर, गुणस्तरीय सेवा त परै जाओस्, आधारभूत परीक्षणसमेत उपलब्ध नभएको गुनासो चुलिँदै गएको छ।
अस्पतालमा रहेका दुईवटा एक्स–रे मेसिनमध्ये ठूलो मेसिन बिग्रिएर पाँच महिनादेखि प्रयोगविहीन छ। सानो मेसिनबाट हात–खुट्टाको सामान्य एक्स–रे मात्र सम्भव भएकाले ढाड, कम्मर र जटिल परीक्षण गर्नुपर्ने बिरामीलाई धनगढीका निजी अस्पताल रिफर गर्नुपरेको छ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा रहेका दुईवटा एक्स–रे मेसिन मध्ये ठूलो मेसन बिग्रिएको हो। अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझा नयाँ मेसिन खरिद अन्तिम चरणमा पुगेको बताउँछन्।
उनका अनुसार बिग्रेको एक्स–रे मेसिनको ब्याट्री नेपालमा पाइँदैन्। चीनबाट ल्याउन सम्बन्धित कम्पनीलाई आग्रह गर्दा नल्याइदिँदा समस्या भएको हो।
डडेल्धुरा अस्पताल अस्तव्यस्त, मेसु काठमाडौंमै मस्त
डडेल्धुरा अस्पताल डडेल्धुरा गम्भीर अस्तव्यस्ततामा फसिरहँदा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुधा देवकोटा भने काठमाडौंमै रमाइरहेको आरोप लागेको छ। अस्पताल स्रोतका अनुसार उनको बसाइँ डडेल्धुरा अस्पतालभन्दा काठमाडौंमै बढी हुने गरेको बताइन्छ।
अस्पताल भवनभित्र रक्सीका बोतल तथा पेटी फेला परेको, आफूखसी कोटेशन वितरण भएको चर्चाले अस्पतालमा भाँडभैलो मच्चिएको बेला मेसु देवकोटा चुपचाप डडेल्धुरा छोडेको खबर बाहिरिएको थियो। सोही क्रममा उनी काठमाडौं पुगेको बताइन्छ।
हाल पनि मेसु देवकोटा काठमाडौंमै रहेको जनाइएको छ। यद्यपि अस्पताल प्रशासनले भने अफिसकै कामका लागि काठमाडौं गएको भन्ने औपचारिक प्रतिक्रिया दिएको छ।
मेसुले निमित्तको जिम्मेवारी डा. निर्माण शाक्यलाई सुम्पिएकी छन्। तर, गम्भीर विषय के भने, अस्पतालको मेसु पदका लागि प्रयोग हुने सरकारी सम्पर्क नम्बर ९८५८७५३२०१ समेत आफैँसँग लगेर बन्द गरिएको छ।
उनको व्यक्तिगत नम्बरमा समेत फोन सम्पर्क हुन सकेको छैन। दशैंअघि अस्पताल छोडेकी मेसु देवकोटा तिहार सकिँदासम्म पनि नफर्किएपछि कर्मचारीहरूले तलब नपाएको गुनासो गर्दै सामाजिक सञ्जालमा सार्वजनिक रूपमा आक्रोश पोखेका थिए।
सो बेला उनी भारत उपचारका लागि गएको भनिए पनि, वास्तविकतामा अस्ट्रेलिया भ्रमणमा रहेको चर्चा व्यापक रूपमा फैलिएको थियो।
अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारप्रति अस्पताल विकास समिति बेखबर जस्तै देखिएको छ। अस्पतालका समग्र हित र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न तत्काल सर्वपक्षीय छलफल गरिनु अपरिहार्य भइसकेको छ।


