सुदूरपश्चिममा थपिए ४६ हजार २० मतदाता, कुन जिल्लामा कति ?

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० नयाँ मतदाता थपिएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्दा यस प्रदेशमा झन्डै आधा लाख नयाँ मतदाता थपिएका हुन् ।

Amargadhi Education

आयोगले असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ता र अद्यावधिक गरेको थियो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा सबैभन्दा बढी १८ हजार २१३, कञ्चनपुरमा १२ हजार २९१ नयाँ मतदाता थपिएका छन् ।

यस्तै बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, डडेलधुरामा एक हजार ८९२, बझाङमा दुई हजार ३४५, अछाममा दुई हजार ६०४ नयाँ मतदाता थपिएका छन् ।

यसै गरी डोटीमा एक हजार ८७८ र बाजुरामा एक हजार ५१७ नयाँ मतदाता थपिएका छन् ।

यसअघि भएको निर्वाचनका बेला सुदूरपश्चिम प्रदेशमा जम्मा १६ लाख ७४ हजार मतदाता रहेका थिए ।

त्यसबेला कैलालीमा मात्रै पाँच लाख ३४ हजार मतदाता थिए। अब प्रदेशभर नै मतदाता सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।

उनले यस पटक थपिने नयाँ मतदातामा बढी युवा रहेको उल्लेख गरे । तराईका जिल्लामा मात्रै होइन पहाडी जिल्लामा पनि उत्साहजनक रूपमा नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीले यसपालि मतदाता नामावली दर्ता गराउनेमा बढी जसो युवा नै रहेको बताए ।

अजयमेरु फाैजी केरा

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख हरिशचन्द्र जोशीले यस पटक मतदाता नामावली दर्ता गराउन युवापुस्ता उत्साहजनक रूपमा आएको बताए ।

भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दा अगाडि बढाएर गत भदौ २३ र २४ गते युवापुस्ता (जेनजी) को आन्दोलन भएको थियो।

जेनजी आन्दोलनको जगमा बनेको सरकारले तत्कालीन प्रतिनिधि सभालाई विघटन गरेर आगामी फागुनमा निर्वाचन घोषणा गरेपछि मतदाता नामावली दर्ताको काम अगाडि बढाइएको थियो ।

जेनजी आन्दोलनपछि हुन गइरहेको निर्वाचनमा सो पुस्ताको चासो विगतका चुनावको तुलनामा बढी हुने अपेक्षा गरिएको छ ।

मतदान केन्द्र स्थानान्तरण गर्न सिफारिस

खलङ्गा समाचारदाताका अनुसार दार्चुलाका दुई मतदान केन्द्रलाई स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

हाल रहेका मतदान केन्द्र भवन जीर्ण रहेका कारण दुई वटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा गर्न संरचनासमेत बलिया र मजबुत हुनुपर्ने मनसायका साथ दुई वटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक अनिल पौडेलले जानकारी दिए  ।

कात्तिक २७ गते बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लाको अपि हिमाल गाउँपालिका–६ मा रहेको महिला सङ्घ आधारभूत विद्यालय सितोलाको मतदान केन्द्रलाई नजिकै रहेको महिला सामुदायिक भवनमा स्थानान्तरणका लागि सिफारिस गरिएको उनले बताए ।

विद्यालय भवन जीर्ण तथा विद्यालय मर्ज भएका कारण मतदान केन्द्रलाई स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

यस्तै नौगाड गाउँपालिका–३, जामिरस्थित सत्सङ्ग भवनमा रहेको मतदान केन्द्रलाई नजिकै रहेको आधारभूत अस्पताल जामिरमा स्थानान्तरणका लागि सिफारिस गरिएको छ ।

नौगाडखोलामा आएको बाढीले हाल रहेको मतदान केन्द्रको प्राङ्गण बगाएको तथा भवन जोखिममा रहेका कारण मतदान केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको उनको भनाइ छ ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.