बोहरा मेडिको सेन्टर

भ्रष्टाचार अभियोग लागेका पूर्वमुख्यमन्त्री सोडारी भन्छन् : राजनीतिक चलखेल गरेर फसाइयो [भिडिओ]

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सांसद दीर्घबहादुर सोडारीले आफूमाथि भ्रष्टाचारको अभियोग दायर हुनुको पछाडि राजनीतिक चलखेल रहेको दाबी गरेका छन्।

Bohora ma 1

गौरीगंगा नगरपालिका–७ मा आयोजित मसुरिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभामा बोल्दै सोडारीले प्रधानमन्त्री (केपी शर्मा ओली) को ‘प्रिय पात्र’ प्रेम राईलाई अख्तियारको आयुक्त बनाइएको प्रसंग जोड्दै आफूविरुद्धको मुद्दा दर्ता प्रक्रियामा उनी स्वयं संलग्न भएको आरोप लगाए।

CNA

“मुख्यमन्त्री बन्नुअघि नै मुद्दा दर्ता गर्ने तयारी हुँदै थियो। प्रेम राई आफैंले हाम्रो पार्टी अध्यक्ष र नेतालाई फोन गरे,” सोडारीले भने, “अरबौंको घोटालामा कारबाही नभएको देशमा एक करोडकै हिसाब नमिलेको भन्दै मुद्दा दर्ता गरियो भने लाज हुने भयो समेत भने।”

सोडारीले वर्तमान सरकारले निरंकुशता र दमनलाई बढावा दिएको आरोप लगाउँदै लोकतन्त्रको हननकै कारण राजावादीदेखि रास्वपाको आकर्षण बढिरहेको बताए।

“जहाँ दमन हुन्छ, त्यहाँ प्रतिवाद पनि हुन्छ,” उनले भने, “यो संसारको सिद्धान्त हो।”

उनले प्रेम राईको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै ५२ जनालाई संसदीय सुनुवाइ नगरिएको, र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको कुरा पनि स्मरण गराए।

त्यस्तै, न्यायालयप्रति विश्वास व्यक्त गरे पनि कहिलेकाहीँ ‘न्यायालय खरिदबिक्रीको ठाउँजस्तो देखिने’ आरोप समेत गरे।

“तीन वर्षदेखि मुद्दा नचलेको, नेताहरूले फोन गरेर केही हुँदैन भनेका थिए। तर अहिले एक्कासि मुद्दा दर्ता भयो,” सोडारीले भने।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने सोमबार विशेष अदालतमा सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ फागुन १० सम्म सार्वजनिक पदमा रहँदा वैधानिक आम्दानीभन्दा एक करोड आठ लाख ३८ हजार तीन सय दुई रुपैयाँ बढी सम्पत्ति आर्जन गरेका छन्।

सोडारी २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी सामाजिक विकासमन्त्री हुँदै भौतिक पूर्वाधार विकासमन्त्री र पछिल्लो चरणमा मुख्यमन्त्रीसमेत बनेका थिए।

हेर्नुस् भिडियो :

https://www.facebook.com/share/v/151AVVTkLG/

 

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.