
धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ नेतृत्वको आगमनसँगै घुमुवा प्रहरी व्यवस्थामा सुधारको अपेक्षा गरिएको थियो।
तर, पछिल्लो गतिविधिले सुधारको आश भन्दा आन्तरिक संघर्ष, सञ्जाल र चलखेलको संकेत देखाएको छ।

प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा र नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंह पदस्थापनसँगै सादा पोसाकमा खटिने घुमुवा प्रहरी बन्ने दौडधूप तीव्र भएको छ।
स्रोतहरूका अनुसार असईदेखि वरिष्ठ सई तहका प्रहरीहरू नेतृत्वसँग व्यक्तिगत पहुँच बढाउँदै यो संवेदनशील जिम्मेवारी हत्याउन प्रयासरत छन्।

नयाँ नेतृत्वले संगठनलाई प्रभावकारी बनाउन रणनीति बनाउँदै गर्दा केही व्यक्तिहरू पुराना घुमुवामाथि आरोप लगाउँदै हटाउने खेलमा जुटेको देखिन्छ।
जसले घुमुवा प्रहरी प्रणालीको मूल उद्देश्य, सूचना संकलन र अपराध नियन्त्रण भन्दा बाहिर स्वार्थको खेल बढी भएको आभास गराउँछ।
डीएसपी सिंहकै गृह जिल्ला भएकाले केही कर्मचारीहरू व्यक्तिगत चिनजान र नाताको आधारमा उनको निर्णय प्रभावित पार्न चाहिरहेको आरोप पनि लागेको छ।
घुमुवा प्रहरीमाथि विगतमा पनि विवाद उठेका थिए। केही समयअघि पत्रकार महासंघ कैलालीमा परेका बेनामे उजुरीहरूले सादा पोसाकमा खटिएका प्रहरीहरू आर्थिक लेनदेन र तस्करसँगको साँठगाँठमा संलग्न भएको आशंका बलियो बनाएको छ।
प्रहरी संगठनभित्रको आन्तरिक संघर्ष र प्रभाव प्रयोगको प्रवृत्तिले प्रणालीमा सुधारभन्दा अविश्वासको वातावरण बनाइरहेको छ।
मुख्यालयबाट अघिल्लो वर्ष जारी गरिएको सर्कुलरमा घुमुवा प्रणालीलाई स्थगन गर्न भनिएको थियो। तर, कार्यान्वयन नहुनुले पनि संगठनको नेतृत्व क्षमता र निर्णयको प्रभावकारितामाथि प्रश्न उठाएको छ।



