

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या तीन पुगेको छ।
प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका सांसद वीरबहादुर थापाले मंगलबार राजीनामा दिएपछि प्रदेशसभामा रिक्त सिट संख्या तीन पुगेको हो।


कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित थापा पूर्वमन्त्रीसमेत हुन्। उनले प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।
नेपालको संविधानअनुसार प्रदेशसभा सदस्यले सभामुखसमक्ष राजीनामा दिएपछि उनको पद रिक्त हुन्छ।
थापाको राजीनामासम्बन्धी औपचारिक जानकारी प्रदेशसभाको आगामी बैठकमा गराइने सभामुख भीम भण्डारीले बताएका छन्।
यसअघि डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित स्वतन्त्र सांसद तारा जोशीले पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।
प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका जोशी निर्वाचित भएपछि उनको प्रदेशसभा सदस्य पद रिक्त भएको हो।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाश देउवा पदमुक्त भएका थिए। लगातार प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि सभामुखले उनलाई पदमुक्त गरेका थिए।
बजेटप्रतिको असन्तुष्टि, प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि दिइएको राजीनामा र लगातार बैठकमा अनुपस्थितिका कारण पदमुक्त भएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन सिट रिक्त भएका हुन्।

