

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराभित्र असन्तुष्टि चुलिएको छ।
बजेट विनियोजन र पार्टीको आन्तरिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै नवदुर्गा गाउँपालिकाका तीन वडाध्यक्षले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको खुलेको छ।


तर, पार्टीले भने राजीनामाको विषय गोप्य राखेको छ।
नवदुर्गा गाउँपालिका–३ का वडाध्यक्ष भक्त कठायत, वडा नम्बर ४ का वडाध्यक्ष पदम बिष्ट र वडा नम्बर ५ का वडाध्यक्ष प्रेम ऐरले पार्टीबाट राजीनामा बुझाएको स्रोतले जनाएको छ।
बिष्ट र कठायत पार्टीका प्रदेश कमिटी सदस्य हुन् भने ऐर साधारण सदस्य हुन्।
स्रोतका अनुसार उनीहरूले प्रदेश सरकारको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।
बजेटसँगै पार्टीभित्रको कार्यशैली र आन्तरिक गतिविधिप्रति पनि उनीहरूको असन्तुष्टि रहेको बताइएको छ।
उनीहरूले राजीनामा पत्र जिल्ला इन्चार्ज र सहइन्चार्जलाई ह्वाट्सएपमार्फत पठाएको स्रोतको दाबी छ।
राजीनामाबारे बुझ्दा वडाध्यक्ष भक्त कठायत र प्रेम ऐरले आफूहरूले राजीनामा नदिएको दाबी गरे। तर, वडाध्यक्ष पदम बिष्टले भने राजीनामा बुझाएको स्वीकार गरेका छन्।
‘पार्टीलाई झकझक्याउन राजीनामा दिएका हौँ। पत्र इन्चार्ज र सहइन्चार्जलाई ह्वाट्सएप गरेका छौँ। तर, नेकपाबाट अलग हुँदैनौँ,’ बिष्टले भने।
उनले बजेट विनियोजन र पार्टीको आन्तरिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई आफ्नो कमजोरी सच्याउन दबाब दिन राजीनामा दिएको बताए।
मुख्यमन्त्री र जिल्ला संयोजकमाथि पनि असन्तुष्टि
नेकपाका एक नेताका अनुसार प्रदेश सरकारको बजेटलाई लिएर जिल्लाका नेता तथा कार्यकर्ता मुख्यमन्त्री खगराज भट्टसँगै जिल्ला संयोजक उमेश भट्टप्रति पनि रुष्ट छन्।
‘अजयमेरु गाउँपालिकाका अध्यक्षसमेत रहेका हाम्रा जिल्ला संयोजक मुख्यमन्त्री नियुक्तिदेखि नै मुख्यमन्त्री कार्यालयमा अड्डा जमाएर बस्नुभयो। मुख्यमन्त्रीकी पत्नी मञ्जु बमसमेत काठमाडौंबाट आएर अड्डा जमाइन्। तर, बजेट विनियोजन गर्दा आफूखुसी गरियो,’ ती नेताले असन्तुष्टि व्यक्त गर्दै भने।
बजेट निर्माण तथा विनियोजन प्रक्रियामा पार्टीभित्र पर्याप्त छलफल नभएको र नेता–कार्यकर्ताका अपेक्षा सम्बोधन नभएको उनीहरूको गुनासो छ।
राजीनामाबारे पार्टी नेतृत्व नै बेखबर?
तीन वडाध्यक्षले राजीनामा दिएको विषय बाहिरिए पनि पार्टीले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
राजीनामाबारे प्रतिक्रिया लिन जिल्ला संयोजक उमेश भट्टलाई फोन गर्दा उनले फोन उठाएनन्।
जिल्ला इन्चार्ज नरबहादुर बिष्टले भने आफूलाई राजीनामाबारे जानकारी नभएको बताए।

