

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पार्टीको अधिवेशन प्रक्रियालाई लिएर असहमत हुँदै बहिष्कारमा उत्रिएका बेला उनका विगतका राजनीतिक सहयात्रीहरू भने अधिवेशन प्रक्रियामै सहभागी भएका छन्।
मल्लले वर्तमान अधिवेशन प्रक्रिया विधि र प्रक्रिया मिचेर अघि बढाइएको भन्दै बहिष्कारको घोषणा गरेका छन्।

उनले यथास्थितिमा हुने अधिवेशनले पार्टीलाई विभाजनतर्फ लैजाने दाबी गर्दै प्रक्रिया तत्काल स्थगन गर्न माग गरेका छन्।
तर, कुनै समय मल्लका निकट राजनीतिक सहयात्रीका रूपमा रहेका हरिप्रसाद भट्ट, करुणाकर भट्ट र भरत नेपाली भने अहिले कांग्रेसको अधिवेशन प्रक्रियामा सहभागी भएका छन्।
कांग्रेसको १३औँ जिल्ला अधिवेशनका क्रममा सदस्यता विवादलाई लिएर मल्लले अधिवेशन बहिष्कार गर्दा हरिप्रसाद भट्ट, करुणाकर भट्ट र भरत नेपालीलगायतका नेता–कार्यकर्ता उनको साथमा थिए।
त्यतिबेला अधिवेशनको वैधानिकता र क्रियाशील सदस्यताको विषयलाई लिएर मल्ल पक्षले विरोध जनाउँदै आएको थियो।

पछि मल्लले नेपाली कांग्रेस (बीपी) गठन गरेर वैकल्पिक राजनीतिक बाटो रोज्दा पनि यी नेताहरू उनको साथमा देखिएका थिए।
गत प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समायोजन भएपछि भने मल्लसँग रहेका कतिपय नेता–कार्यकर्ता क्रमशः अलग भएका थिए।
अहिले १४औँ महाधिवेशनअन्तर्गत कांग्रेसले अघि बढाएको अधिवेशन प्रक्रियामा पनि त्यही दूरी थप स्पष्ट देखिएको छ।
कांग्रेसको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ गतेबाट सुरु भएको छ।
डडेल्धुरामा जिल्ला सभापति भीमबहादुर साउँद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वसभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरा, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव प्रेमबहादुर महर तथा गोविन्दराज बोहरा, हरिप्रसाद भट्ट, करुणाकर भट्ट र भरत नेपालीलगायतका नेताहरू वडा अधिवेशन प्रक्रियामा सहभागी भएका छन्।
डडेल्धुराका ५२ वटै वडामा अधिवेशनको तयारी गरिएको जिल्ला सभापति साउँदले बताएका छन्।
यता जिल्ला उपसभापतिहरू डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सचिव शेरबहादुर भण्डारी, पूर्वराज्यमन्त्री सरस्वती खड्का, जगत ऐरलगायतका नेताहरू भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते अघि बढाउने समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन्।
यसरी डडेल्धुरा कांग्रेसमा अधिवेशनलाई लिएर नेताहरू फरक–फरक प्रक्रियामा उभिएका छन्।

