

डडेल्धुरा : डडेल्धुराको भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलमा कार्यरत बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

बोहराले बालविकास सहजकर्ता पदमा नियुक्तिका लागि शैक्षिक योग्यताको झुटा तथा नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको र त्यसबापत पारिश्रमिक भत्तालगायतका सुविधा लिएर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

आयोगले बोहराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।
अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सार्वजनिक पदमा नियुक्ति लिएर सरकारी सुविधा लिएको आरोपमा बोहराविरुद्ध कानुनी कारबाही अघि बढाइएको हो।

