

डडेल्धुरा : डडेल्धुराका गणेशप्रसाद अवस्थीलाई नबिल बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ)को जिम्मेवारी दिएको छ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ बडम घर भएका अवस्थी डीसीइओमा बढुवा भएका हुन् ।

यसअघि नायब महाप्रबन्धक (डीजीएम)का रूपमा कार्यरत अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल गरेका छन्।

उनले नबिल बैंकमा सहायक महाप्रबन्धक (एजीएम)का रूपमा सेवा सुरु गरेका थिए।
अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ यात्रा अघि बढाएका थिए।
त्यसपछि कुमारी बैंकमा शाखा प्रमुखको जिम्मेवारी सम्हालेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा आबद्ध भएका थिए।
ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय बिताएपछि अवस्थी नबिल बैंकमा प्रवेश गरेका हुन्।
बैंकिङ क्षेत्रमा विशेषगरी कर्जा व्यवस्थापन र निक्षेप परिचालनमा अनुभव हासिल गरेका उनी व्यावसायिक विस्तार, ग्राहक सेवा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।

