बोहरा मेडिको सेन्टर

इजाजतबिनै सुर्तीजन्य पदार्थ बेच्दै डडेल्धुराका व्यवसायी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका होटल तथा किराना पसलमा आवश्यक इजाजत नलिई सुर्तीजन्य पदार्थको बिक्री–वितरण भइरहेको पाइएको छ। कानुनी प्रक्रिया पूरा नगरी पान, गुट्खा, सुर्ती र चुरोटजस्ता पदार्थ खुलेआम बिक्री भइरहेको अनुगमनका क्रममा भेटिएको हो।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराको नेतृत्वमा शनिबार गन्यापधुरा गाउँपालिका–१ अन्तर्गत साहुखर्क र भातकाँडा बजारमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा व्यवसायीहरूले इजाजतबिनै सुर्तीजन्य पदार्थ बिक्री गरिरहेको पाइएको हो।

CNA

सुर्तीजन्य पदार्थको कारोबारका लागि सम्बन्धित निकायमा दर्ता हुनुका साथै आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्था छ। तर, अनुगमनका क्रममा केही व्यवसायीले उक्त प्रक्रिया पूरा नगरी होटल तथा किराना पसलबाटै सुर्तीजन्य पदार्थ बिक्री गर्दै आएको भेटिएको हो।

GBL NEW

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायाका अनुसार इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्ने तीन पसललाई ६ हजार रुपैयाँ जरिवाना गरिएको छ। उनीहरूलाई सात दिनभित्र आन्तरिक राजस्व कार्यालयबाट आवश्यक इजाजतपत्र लिन निर्देशनसमेत दिइएको छ।

अनुगमनका क्रममा ११ वटा होटल तथा किराना पसलको निरीक्षण गरिएको थियो। केही होटलमा सरसफाइको अवस्था कमजोर देखिएपछि व्यवसायीलाई सुधार गर्न सचेत गराइएको प्रशासनले जनाएको छ।

यस्तै, अनुगमन टोलीले मसलाजन्य पदार्थ, बिस्कुट, कुरमुरेलगायत म्याद नाघेका २ हजार ५ सय ९० रुपैयाँ बराबरका अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ।

बजारमा व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा नगरी सुर्तीजन्य पदार्थ बिक्री गरिरहेको भेटिएपछि प्रशासनले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहित पत्रकारको सहभागिता रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.