
डडेल्धुरा : अमरगढी नगरपालिका–९ ढकाउलीका धनबहादुर महरले डडेल्धुरा अस्पताल प्रशासनले काम दिने आश्वासन दिएर आफूलाई अन्याय गरेको गुनासो गरेका छन्।
हालै डडेल्धुरा अस्पतालले कार्यालय सहयोगी र स्विपर पदका लागि विज्ञापन खुलाएपछि महरले पनि आवेदन दिएका थिए।

दुवै पदमा आफ्नो नाम नआएपछि उनले सामाजिक सञ्जालमार्फत पीडा व्यक्त गरेका छन्।
त्यसपछि अस्पताल प्रशासनबाट सम्पर्क गरी अस्पतालमा आउन र कुनै न कुनै पदमा काम दिने आश्वासन दिइएको उनको भनाइ छ।
अस्पतालको आश्वासनपछि धनगढीमा मासिक ८–१० हजार रुपैयाँ तलबमा गर्दै आएको जागिरसमेत छोडेर डडेल्धुरा आएको महरले बताएका छन्।
अस्पतालमा बोलाएर सम्झौता पत्रमा हस्ताक्षर गराइएको र आफूले एक दिन कामसमेत गरेको उनले बताए।
तर, सम्झौता गरेर एक दिन काम गरेपछि भोलिपल्टै आफूलाई ‘अब नआउनुहोस्’ भनिएको महरको गुनासो छ।

आफूलाई हटाउनुको स्पष्ट कारण र कुनै स्पष्टीकरणसमेत नदिइएको उनले बताएका छन्।
महरले आफू एचआईभी संक्रमित भए पनि त्यसलाई कामप्रतिको जिम्मेवारीबाट पछि हट्ने बहाना कहिल्यै नबनाएको बताएका छन्।
आफूले सधैं इमान्दारीपूर्वक काम गर्दै आएको उनको दाबी छ।
‘अस्पतालको आश्वासनमा विश्वास गरेर धनगढीको जागिर छोडेर आएँ। सम्झौता गरियो, एक दिन काम पनि गरें। तर भोलिपल्टै अब नआउनुहोस् भनियो। अहिले म बेरोजगार भएको छु,’ महरले लेखेका छन्।
उनले अस्पताल प्रशासनको यस्तो व्यवहारले आफूलाई आर्थिक, मानसिक तथा सामाजिक रूपमा ठूलो असर परेको बताएका छन्।
साथै सम्बन्धित निकाय, मानवअधिकारकर्मी तथा सरोकारवालासँग घटनाको निष्पक्ष छानबिन गरी न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्।
महरले आफूले कसैको बदनाम गर्न नभई आफूमाथि भएको व्यवहार सार्वजनिक गर्दै न्यायको अपेक्षा गरेको बताएका छन्।
हेर्नुस् उनको स्टाटस :


