
डडेल्धुरा : डडेलधुरामा उपसचिव कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा खटाइने भएको छ।
गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार डडेल्धुरासहित ९ पहाडी जिल्लामा सहसचिवको सट्टा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाउने गरी नयाँ दरबन्दी कायम गरिएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा अब उपसचिव सीडीओका रूपमा खटाइनेछ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा पनि उपसचिवको दरबन्दी कायम गरिएको छ।

यी जिल्लामा यसअघि पनि उपसचिव नै सीडीओका रूपमा कार्यरत थिए।
तर बीचमा सरकारले केही पहाडी जिल्लामा सहसचिवलाई सीडीओ बनाउने निर्णय गरेको थियो।
नयाँ व्यवस्थासँगै ७७ जिल्लामध्ये ५२ जिल्लामा मात्रै सहसचिव प्रमुख जिल्ला अधिकारी रहनेछन्।
हिमाली तथा केही पहाडी जिल्लामा उपसचिव सीडीओ रहने पुरानै व्यवस्था भने यथावत् रहने मन्त्रालयले जनाएको छ।
सहसचिव सीडीओ विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि उपसचिव अमरबहादुर वली डडेल्धुरामा सीडीओको रुपमा कार्यरत छन्।

