
डडेल्धुरा : प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने आठ सांसदसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू तारा जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्रसिंह महता, जगत जोशी र केपी खनाल सहभागी थिए।

बिहान सवा ११ बजेदेखि सुरु भएको छलफल करिब साढे दुई घण्टा चलेको थियो।
प्रधानमन्त्रीकै इच्छाअनुसार आयोजित छलफलमा सांसदहरूले आफ्नो क्षेत्रका समस्या, सरकारको कामकारबाही, संसद्मा प्रधानमन्त्रीको उपस्थिति तथा सीमा क्षेत्रमा भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए।
छलफलका क्रममा प्रधानमन्त्री संसद्मा कम उपस्थित हुने विषय प्रमुख रूपमा उठेको थियो।
सांसदहरूले प्रधानमन्त्री संसद्मा नआउँदा विपक्षीसँग सामना गर्न कठिन हुने बताएका थिए।
सांसद ज्ञानेन्द्रसिंह महताका अनुसार केही सांसदले प्रधानमन्त्रीलाई संसद्मा नियमित उपस्थित हुन आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्रीले विपक्षीले सधैं कुनै न कुनै बहाना बनाउने भएकाले संसद्मा उपस्थित नहुने विषयलाई धेरै ठूलो रूपमा नलिन आग्रह गरेका थिए।
यस क्रममा सांसद डा. ताराप्रसाद जोशीले प्रधानमन्त्रीको संसद् सम्बोधन महत्वपूर्ण हुने भन्दै संसद्मा नियमित उपस्थित हुनुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्रीले भने आवश्यकताअनुसार संसद्मा जाने र सरकारको मुख्य ध्यान काममा केन्द्रित हुने बताएका थिए।
छलफलमा दार्चुलास्थित लिपुलेक नाका र सीमा क्षेत्रमा भइरहेका गतिविधिबारे पनि प्रश्न उठेको थियो।
भारत र चीनले नेपाली भूमि दाबी गरिएको क्षेत्रमा व्यापार सुरु गरेको विषयमा सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
यस्तै, सुस्तामा भारतीय सीमा सुरक्षा बलले निर्माणाधीन तटबन्ध भत्काएको विषयमा पनि जिज्ञासा राखिएको थियो।
सांसद जनकसिंह धामीका अनुसार प्रधानमन्त्रीले उक्त विषयमा आफूलाई जानकारी रहेको मात्र बताएका थिए।
कृषि क्षेत्रमा देखिएको मल अभावको विषय पनि छलफलको केन्द्रमा रह्यो।
सांसद जोशीले आगामी वर्ष किसानलाई मल अभाव हुन नदिन सरकारले अपनाउने रणनीतिबारे प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नै यस विषय समेटिएको उल्लेख गर्दै सरकारले गत वर्षभन्दा बढी बजेट विनियोजन गरेको बताएका थिए।
तर, सांसद जोशीले नीति तथा कार्यक्रमलाई समयअनुसार परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।
छलफलमा प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार कुमार बेनसहित सचिवालयका अन्य सदस्यहरू पनि सहभागी थिए।
सांसद केपी खनालले गेटा परियोजना, छाडा चौपाया नियन्त्रण, मल अभावलगायत सुदूरपश्चिमका जनताका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए।
सुदूरपश्चिमका सांसद र प्रधानमन्त्रीबीच यस प्रकारको भेट दोस्रो पटक भएको हो।

