सम्झनामा भीमदत्त : कांग्रेस त्यागदेखि कम्युनिस्ट आन्दोलनसम्म

dream cafe
learnar

डडेल्धुरा : किसान, श्रमिक तथा उत्पीडित वर्गको हक–अधिकारका लागि संघर्ष गरेका क्रान्तिकारी नेता भीमदत्त पन्तको आज ७३ औँ स्मृति दिवस।

सात सालको जनक्रान्तिले राणाको ठाउँमा पुर्‍याएका प्रधानमन्त्री तथा आफ्नै पार्टीका नेता मातृकाप्रसाद कोइरालाले भीमदत्त पन्तको टाउको काट्न लगाएका थिए।

GBL NEW

मातृका सरकारले भीमदत्तलाई जिउँदै वा मृत ल्याउनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो।

को हुन् भीमदत्त ?

भीमदत्त पन्त सुदूरपश्चिमको डडेल्धुरास्थित कारीगाउँमा १० मंसिर १९८३ मा पिता तारानाथ पन्त र आमा सरस्वतीदेवीको कोखबाट जन्मेका थिए।

उनी सानै छँदा उनकी आमा बितेकाले उनको बाल्यकाल सौतेनी आमाको साथमा बित्यो।

त्यसबेलाको चलनअनुसार ११ वर्षमा पार्वतीदेवी (ईश्वरी) सँग उनको वैवाहिक लगनगाँठो कसियो। दुई छोरा र एक छोरी जन्मिए पनि पन्त दम्पतीका कुनै पनि सन्तान जीवित रहेनन्।

त्यसपछि अध्ययनका लागि उनी भारत उत्तर प्रदेशको सिन्हाई पुगे। त्यहाँबाट उनले संस्कृतमा म्याट्रिक पास गरेको कुरा अध्येता तथा प्राध्यापक कल्याण ओझाले आफ्नो अनुसन्धानात्मक कृति ‘शहीद भीमदत्त पन्त’मा उल्लेख गरेका छन्।

उनी भागवत गीताका राम्रा अध्येता थिए।

मार्क्सवाद दर्शन पनि राम्ररी बुझेका उनमा पूर्वीय र पश्चिमा दुवै चिन्तनशैलीको विकास भएको हुँदा क्रान्तिलाई उनी मौलिक रूपमै अगाडि बढाउन र मातृभूमिको सेवा गर्ने उद्देश्यसाथ अगाडि बढेका थिए।

उनी अध्ययन पूरा गरी भारतबाट घर फर्किंदा उनका पिता तारानाथको पनि देहावसान भइसकेको थियो। सानै उमेरमा आफ्नै घरको सामन्ती संस्कारविरुद्ध विद्रोह थालेका भीमदत्तको क्रान्तिकारी जीवन क्रान्ति मैदानमै समाप्त भयो।

सरकारी संयोजनमा भएको हत्या

जंगबहादुर राणाले जसरी अछामका ‘बाँकावीर’को टाउको काटेर काठमाडौं ल्याउन उर्दी दिएका थिए, त्यस्तै शैलीमा सात सालको जनक्रान्तिले राणाको ठाउँमा पुर्‍याएका प्रधानमन्त्री तथा आफ्नै पार्टीका नेता मातृकाप्रसाद कोइरालाले भीमदत्त पन्तको टाउको काट्न लगाएका थिए ।

मातृका सरकारले भीमदत्तलाई जिउँदै वा मृत ल्याउनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेको थियो।

सोझा किसानहरूलाई भड्काएर देशद्रोह र राजद्रोह गरेको आरोपमा १७ साउन २०१० मा डडेल्धुराको गल्लेक बुडरमा स्थानीय हमजाली मगरको घरमा खाना खाइरहेको अवस्थामा लालबहादुर थापाले गोली प्रहार गरी उनको हत्या गरे।

जबकि लालबहादुर भीमदत्तका मीत थिए। हत्या गरेपछि उनको टाउको छुट्याएर १८ साउनमा डडेल्धुरा, गोश्वाराअगाडिको भैरवस्थानमा बाँसको लिङ्गोमा झुन्ड्याएर बीभत्स रूपमा प्रदर्शन गरिएको भनी अध्येताहरूले उल्लेख गरेका छन्।

टाउकोमुन्तिर लेखिएको थियो– ‘देशद्रोह र राजद्रोह गर्नेलाई यस्तै हुन्छ’।

‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै स्थानीय किसानहरूलाई गोलबद्ध गर्दै क्रान्ति चर्काइरहेका बेला भीमदत्तलाई आफ्नै मीत लालबहादुर थापाले डडेल्धुराको बुडरमा गोली हानी हत्या गरेका थिए।

त्यसबेला डडेल्धुराका बडाहाकिम मोहनबहादुर सिंह थिए। भीमदत्तको समूहलाई दबाउन नेपाली र भारतीय दुवैतर्फका सेना प्रयोग गरिएको कुरा विभिन्न लेख तथा रिपोर्टहरूमा उल्लेख भएको पाइन्छ।

मातृकाप्रसादले एक जना क्रान्तिकारीको सफाया गर्नका निम्ति भारतीय सेनालाई नेपाल निम्त्याएका थिए।

२४ असार २०१० मा भीमदत्त र उनको लडाकु दस्ताले कञ्चनपुरको बेलौरीमा रहेको मालअड्डा, बैँक, प्रहरी थाना, गोश्वारा सबै कब्जा गर्‍यो।

उनले आफ्नो विद्रोहको मुख्य एजेन्डा किसान मुक्तिलाई बनाएका थिए। मजदुर किसान, गरिब किसान, मध्यमवर्गीय किसान, धनी किसान र जमिनदार किसान गरी उनले किसानहरूको वर्गीकरण गरेर क्रान्ति अघि बढाए।

गरिब किसानहरूको साथ लिएर उनी राज्यको कालो बजारी नीतिको विरोधमा उत्रे। कञ्चनपुरको ब्रह्मदेवमा भन्सारका कर्मचारीहरूले कालो बजारी गर्न नुनको कृत्रिम अभाव सिर्जना गरेको खबर पाउनासाथ भीमदत्त त्यहाँ पुगेर भन्सारलाई नियन्त्रणमा लिई नुन बाँडिदिए।

तत्कालीन कैलालीका बडाहाकिम धैर्य शमशेरले भीमदत्त र उनका राजनीतिक गुरु भारतीय कम्युनिस्ट पार्टीका नेता कृष्णस्वामी अयंगरलाई पक्राउ गरी बन्दी बनाए।

कृष्णस्वामी भारत सरकारलाई सुपुर्दगी गरे भने भीमदत्तलाई बेलौरी जेलमा थुने। १० असार २०१० मा उनी बेलौरी जेल ब्रेक गरी भाग्न सफल भए।

त्यसपछि सशस्त्र क्रान्तिको योजनासहित डडेल्धुरातर्फ अघि बढ्दै गर्दा १७ साउनमा सैन्य कारबाहीमा उनको मृत्यु हुन पुग्यो।

२००७ सालको क्रान्तिताका भीमदत्त नेपाली कांग्रेसमा आबद्ध थिए। मुक्ति सेनामा आबद्ध भई राणा शासनविरुद्ध लड्न अग्र मोर्चामा खटिए— शिवराज पन्त र भीमदत्त पन्त।

मुक्ति सेनाले डोटी कब्जा गर्नासाथ त्यहाँको गभर्नर शिवराज पन्तलाई बनाए भने डडेल्धुरा कब्जा गरिसकेपछि त्यहाँको गभर्नरमा भीमदत्त पन्त नियुक्त भए।

इतिहासका प्राध्यापक राजेश गौतमका अनुसार उनले २००६ सालमै नेपाली कांग्रेसको सदस्यता लिएको पाइन्छ।

नेपाली कांग्रेसले राजा–राणा र भारतसितको त्रिपक्षीय दिल्ली सम्झौतालाई स्वीकार गरेपछि भीमदत्त त्यसको विरोधमा उत्रिए।

कञ्चनपुर क्षेत्रमा भीमदत्त र भैरहवा क्षेत्रमा डा. केआई सिंह दुवैले जनक्रान्ति रोक्ने नेपाली कांग्रेसको अपिलविरुद्ध विद्रोहको धम्की दिए।

२००८ असोजमा भीमदत्तलाई पक्रन काठमाडौंबाट सिद्धिगणेश मानन्धरको नेतृत्वको सुरक्षा फौज डडेल्धुरा पुगेर नियन्त्रणमा लिई काठमाडौं ल्याई अनुसन्धान गर्दा निर्दोष रहेको पाइएपछि उनी थुनामुक्त भए।

त्यसपछि उनी नेपाली कांग्रेस परित्याग गरी नेपाल प्रजापरिषद्मा प्रवेश गरे। प्रजापरिषद्का नेता गोविन्दप्रसादबाट उनले पार्टी सदस्यता लिए।

उनी प्रजापरिषद्मा कहिलेसम्म रहे, त्यसबारे यकिन तथ्यांक भने पाइँदैन। कम्युनिस्ट नेता निरञ्जनगोविन्द वैद्यका अनुसार उनैले भीमदत्तलाई कम्युनिस्ट पार्टीको सदस्यता दिएका थिए।

यसरी यहाँ उनले कोबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए भन्ने विषयमा इतिहासका उत्खनन्‌कर्ताहरूबीच मत बाझिएको पाइन्छ।

भीमदत्त नेपाली क्रान्तिकारी युगका क्रान्तिका झिल्को थिए। दलितहरूमाथि समाजले गरेको अन्याय, अत्याचार र विभेदको विरोधमा उनी खरो उत्रे।

उनको भान्छामा दलितहरूको सहज पहुँच थियो। आजसम्म छुवाछुतको विकराल रूप रहेको सुदूरपश्चिममा ७३ वर्षअघि नै त्यस किसिमको समानताको थालनी गर्नु चानचुने आँटले सम्भव थिएन। तर, त्यो काम भीमदत्तले गरे।

गरिब किसानहरूको हकहितका निम्ति उनले जीवनको पर्वाह गरेनन्। दुःख र पीडाको जीवन बिताउन विवश गरिब किसानहरूको भलाइ गर्दै समतामूलक समाज निर्माणको लक्ष्य सिद्धिका निम्ति सत्तासित कहिल्यै झुकेनन्।

बरु जीवनकै बलिदान दिन उनी तयार भए। उनको जातीय विभेद अन्त्य र गरिब किसानको भलाइ गरी समतामूलक समाज निर्माणको क्रान्तिकारी कदमलाई साथ दिन थुप्रै सुदूरपश्चिमवासी तयार भए।

क्रान्तिको दौडानमा धेरैले सास्ती व्यहोरे। कतिको हत्या भयो। तैपनि भीमदत्त आफ्नो उद्देश्यबाट विचलित भएनन्।

त्यसैले त्यस्ता योद्धाको कर्मलाई स्मृतिमा राख्नु र सम्मान दिनु लोकतान्त्रिक राज्य र समाजको प्रमुख कर्तव्य सम्झेर होला राज्यले उनको सम्मानमा कुनै कञ्जुस्याइँ गरेको छैन।

पछिल्लो समय पश्चिममा भीमदत्तले उठाएको किसान क्रान्ति र उनका बारेमा स्वतन्त्र अध्ययन, अनुसन्धानहरू पनि भएका छन्।

भीमदत्तको सम्झना

नेपाल सरकारले भीमदत्त पन्तलाई १९ फागुन २०७२ मा शहीद घोषणा गरेको छ। डडेल्धुराको सदरमुकामस्थित बागबजारमा उनको सालिक स्थापना गरिएको छ।

भीमदत्त स्मृति प्रतिष्ठानले उनको बारेमा थप अध्ययन, अनुसन्धान गर्ने उल्लेख गरेको छ।

सुदूरपश्चिममा राजा महेन्द्रको नाममा स्थापना भएको महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी २०६५ सालदेखि भीमदत्त पन्तको नाममा भीमदत्त नगरपालिका बनाइएको छ।

धनगढीदेखि डडेल्धुरासम्म १ सय ३५ किमि लामो भीमदत्त पन्त राजमार्गले सुदूरपश्चिमका तराई र पहाडका सात जिल्लालाई जोडेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.