डडेल्धुरा बजार बचाउने निर्णय, १५/१५ मिटर कायम गर्न सरकारलाई सिफारिस

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको मुख्य बजार क्षेत्र जोगाउने उद्देश्यसहित स्याउले–अनारखोली सडक खण्डमा हाल कायम रहेको १५/१५ मिटर ‘राइट अफ वे’ यथावत् राख्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले बजार क्षेत्रको भौगोलिक अवस्था, विगतमा भएको जग्गा अधिग्रहण, सर्वोच्च अदालतको फैसला तथा स्थानीय सरोकारलाई आधार मानेर सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ १५/१५ मिटर सडक सीमा कायम गर्न सरकारसमक्ष सिफारिस गर्ने निष्कर्ष निकालेको हो।

GBL NEW

बैठकमा प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशी र हरिनादेवी कामीसहित जिल्ला समन्वय समिति, अमरगढी नगरपालिका, राजनीतिक दल, व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने साविक महाकाली राजमार्गको स्याउले–अनारखोली सडक खण्डमा यसअघि सडक डिभिजन कार्यालय डोटीले १५/१५ मिटर क्षेत्र अधिग्रहण गरी मुआब्जा वितरण गरिसकेको विषयलाई पनि आधार बनाइएको थियो। साथै, सर्वोच्च अदालतको २०६६ वैशाख १३ गतेको फैसला, अमरगढी नगरपालिकाको निर्णय, सर्वदलीय सहमति तथा मुख्य बजार नै विस्थापित हुन सक्ने अवस्थालाई समेत विचार गरी पुरानै सीमा कायम गर्न उपयुक्त ठहर गरिएको हो।

निर्णयअनुसार अमरगढी नगरपालिकाले सडक डिभिजन कार्यालय कुलपातेमार्फत सडक विभाग र नेपाल सरकारसमक्ष आवश्यक सिफारिस पठाउनेछ।

बैठकले अर्को महत्वपूर्ण निर्णय गर्दै सडकको केन्द्रबिन्दुबाट १५/१५ मिटरभन्दा पछाडि निर्माण भएका तथा भविष्यमा बन्ने घरहरूको कानुनी प्रक्रिया पूरा गरी नक्सापासको काम तत्काल अघि बढाउने सहमति पनि गरेको छ।

त्यसैगरी, बागबजार–बगरकोट–सिराड–रुपाल सडकअन्तर्गत अमरगढी–५ को पिचल चौतारीदेखि आँखा अस्पतालसम्मको सडक खण्डमा भने केन्द्रबिन्दुबाट दायाँ–बायाँ १०/१० मिटर ‘राइट अफ वे’ कायम गर्न सुदूरपश्चिम प्रदेश सरकारसमक्ष सिफारिस गरिने भएको छ। यस प्रक्रियाको समन्वय अमरगढी नगरपालिकाले गर्नेछ।

बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनअनुसार जग्गा उपलब्ध गराउने कार्यलाई तीव्र बनाउन जिल्ला भूमि समस्या समाधान समितिसँग समन्वय गरी आवश्यक सहजीकरण गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.