डडेल्धुरामा मातृ, नवजात तथा बाल स्वास्थ्य–पोषण सुधार कार्यक्रम शुभारम्भ

dream cafe
learnar

डडेल्धुरा: मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन हुन लागेको मातृ, नवजात, बाल स्वास्थ्य तथा पोषण सुधार कार्यक्रमको जिल्ला स्तरीय शुभारम्भ तथा अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ।

संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा इपीक नेपाल, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रम जिल्लाका सातै स्थानीय तहमा कार्यान्वयन गरिने भएको हो।

GBL NEW

डडेल्धुरा सदरमुकाममा आयोजित कार्यशालामा गर्भावस्थादेखि सुत्केरी अवस्था, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य र पोषण सेवाको पहुँच तथा गुणस्तर सुधारमा विशेष जोड दिइने जानकारी दिइयो। कार्यक्रममार्फत आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराउने, स्वास्थ्य आपतकालीन अवस्थामा सेवा निरन्तरता सुनिश्चित गर्ने, स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि गर्ने तथा खरिद–आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन अझै प्रभावकारी प्रयास आवश्यक रहेको औँल्याएको थियो।

इपीकका प्रतिनिधिले कार्यक्रमका उद्देश्य, स्वास्थ्य सामग्री तथा उपकरणमा गरिने सहयोग तथा स्थानीय तहमा सञ्चालन गरिने प्रमुख गतिविधिबारे प्रस्तुति दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले मातृ, नवजात तथा बाल स्वास्थ्य र पोषण क्षेत्रमा अझै चुनौती कायम रहेकाले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकायबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गरे।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन, बाल कुपोषण न्यूनीकरण गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रभावकारी अनुगमन र मूल्याङ्कनमा जिल्ला समन्वय समितिको साथ रहने बताए।

स्वास्थ्य कार्यालयका प्रमुख केशर साउदले कार्यक्रमले जिल्लाको समग्र स्वास्थ्य सूचक सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।

स्थानीय साझेदार संस्था रुडुकका कार्यकारी निर्देशक अमर साउदका अनुसार कार्यक्रमले स्वास्थ्य कार्यालय, स्थानीय तह, स्वास्थ्य संस्था, विकास साझेदार र समुदायबीचको सहकार्यलाई थप सुदृढ गर्दै डडेल्धुराका सातै स्थानीय तहमा मातृ, नवजात तथा बाल स्वास्थ्य एवं पोषण सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।

 

Ddl dental
Leave A Reply

Your email address will not be published.