
डडेल्धुरा : विदेश पलायन र वैदेशिक रोजगारीको आकर्षण बढिरहेका बेला डडेल्धुराका तीन युवाले भने गाउँमै सम्भावना खोज्दै व्यावसायिक कफी खेती सुरु गरेका छन्।
भागेश्वर गाउँपालिका–४ शानस्थित सान एग्रो इस्टेट मार्फत उनीहरूले जिल्लामै पहिलोपटक २ हजार वटा अरबिका जातका कफीका बिरुवा रोपेका हुन्।


दीक्षित भण्डारी, नितिन चटौत र निश्चल चटौतको पहलमा सुरु भएको यस परियोजनामा हालसम्म करिब १५ लाख रुपैयाँ लगानी भइसकेको छ।
गुल्मीबाट ल्याइएका गुणस्तरीय बिरुवालाई आधुनिक कृषि विधिअनुसार रोपिएको छ।


कृषि ज्ञान केन्द्र डडेल्धुराले बिरुवा खरिदमा ५० प्रतिशत अनुदानस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराएको छ।
पाइप, मल तथा खाडल खन्ने मेसिन खरिदमा समेत सहयोग गरिएको कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए।
कृषि विकास निर्देशनालयले पनि बिरुवा खरिदका लागि ९५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
कफी खेतीसँगै फार्ममा आँप, लिची र कागतीका बिरुवा पनि रोपिएका छन्।
कफी उत्पादनका लागि आवश्यक छाहारी व्यवस्थापन पूरा गरिनुका साथै २० क्विन्टल गड्यौला मल प्रयोग गरिएको छ।
करिब तीन वर्षपछि उत्पादन दिन सुरु गर्ने कफीका बिरुवाले २५ वर्षसम्म उत्पादन दिने अपेक्षा गरिएको छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरूका अनुसार डडेल्धुराको हावापानी र भूगोल कफी खेतीका लागि निकै उपयुक्त छ।
जिल्लामै पहिलोपटक सुरु भएको यो प्रयास सफल भएमा अन्य युवाका लागि पनि गाउँमै बसेर आम्दानी गर्ने प्रेरणादायी उदाहरण बन्न सक्ने विश्वास गरिएको छ।

