
डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को दरबन्दी कायम रहेकै अवस्थामा गृह मन्त्रालयले पुनः उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।
यस निर्णयसँगै केही समयदेखि सीडीओको जिम्मेवारी सम्हालिरहेका उपसचिव अमरबहादुर वली ‘पेलिएका’ छन्।

गृह मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार उपसचिव मीना अर्याललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको हो। गुल्मीकी अर्याल यसअघि तेह्रथुमको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यसम्पादन गरिसकेकी छन्।
यसअघि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको सरुवापछि सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत उपसचिव वलीलाई २०८३ जेठ २७ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको थियो।

त्यसयता उनले जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका थिए।
तर, सहसचिवस्तरको दरबन्दी रहेको कार्यालयमा गृह मन्त्रालयले पुनः उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारी बनाएर पठाएपछि वली अब सोही कार्यालयमा नयाँ प्रमुख जिल्ला अधिकारीको मातहतमा काम गर्नुपर्ने अवस्थामा पुगेका छन्।
स्रोतका अनुसार गृहको निर्णयप्रति वली पनि असन्तुष्ट छन्।
सीडीओको जिम्मेवारी सम्हालिसकेका अधिकृतलाई पुनः मातहतमा राख्ने निर्णयले प्रशासनिक वृत्तमा अनेक टिप्पणी सुरु भएका छन्।
धेरैले यसलाई वलीलाई ‘पेलिएको’ अवस्था भएको रूपमा टिप्पणी गरेका छन् भने केहीले गृह मन्त्रालयको सरुवा र पदस्थापन नीतिमाथि प्रश्न उठाएका छन्।
सहसचिवको दरबन्दी भएको जिल्लामा लगातार उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइनुले गृह मन्त्रालयको जनशक्ति व्यवस्थापन र पदस्थापन प्रक्रियामाथि समेत चासो बढाएको छ।

