
बैतडी : बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी २० जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस दिउँसो करिब साढे ३ बजेतिर सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाका अनुसार दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा पाटन नगरपालिका–६ का ३१ वर्षीय दीपक विक, पाटन नगरपालिका–८ का करिब ६० वर्षीय एक पुरुष तथा परिचय नखुलेकी करिब ५५ वर्षीया एक महिला रहेका छन्। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।


घाइतेमध्ये ९ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। बाँकी ९ जनालाई पनि उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक तिमिल्सैनाले जानकारी दिए।
अन्य घाइतेहरूमा बस चालक पाटन नगरपालिका–३ का करिब २५ वर्षीय दिनेश भाट, २५ वर्षीया दुरा बोहरा, पाटन नगरपालिका–६ का ४३ वर्षीय जनकप्रसाद पन्त, ११ वर्षीय सिद्धार्थ भण्डारी, ३१ वर्षीय मोहन पन्त, दशरथचन्द नगरपालिका–४ का सागर ठगुन्ना, सोही ठाउँकी ५४ वर्षीया निर्मला कार्की, पुर्चौंडी नगरपालिका–८ की ३५ वर्षीया रत्नाकुमारी भण्डारी तथा डडेल्धुराकी दीपा महरा रहेका छन्।
यस्तै, दशरथचन्द नगरपालिका–६ की धाना पहरी, ४० वर्षीय रमेश महर, १४ वर्षीय अरुण महर, सुर्नया गाउँपालिका–२ का ४० वर्षीय पुष्कर बिष्ट, २७ वर्षीया माया बिष्ट, पुर्चौंडी नगरपालिका–१ की ३५ वर्षीया अनुग्रा कुमारी ठगुन्ना तथा दशरथचन्द नगरपालिका–९ का २६ वर्षीय जनकराज जोशी पनि घाइते भएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

