
डडेल्धुरा : रैथाने तथा प्राङ्गारिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित सञ्चालित उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि बिहीबार डडेल्धुरामा सरोकारवाला निकायसँग समन्वय बैठक सम्पन्न भएको छ।
प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय डडेल्धुराका कार्यक्रम व्यवस्थापक प्रमुख गंगादत्त अवस्थीले २०८१ कात्तिक ३० गते वित्तीय सम्झौता भएको उक्त कार्यक्रम २०९० असार १४ गतेसम्म सञ्चालन हुने जानकारी दिए।

उनका अनुसार कार्यक्रम सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ, बैतडी र अछाम जिल्लामा लागू भएको छ।
डडेल्धुरामा भने नवदुर्गा र अजयमेरु गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रमअन्तर्गत रैथाने तथा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिइने, सिंचाइजस्ता कृषि पूर्वाधार निर्माण, नमुना फार्म स्थापना, वित्तीय साक्षरता अभियान सञ्चालन तथा कम लगानीमा बढी आम्दानी हुने खेती प्रणाली विकासमा जोड दिइने उनले बताए।
सहभागी कृषकलाई अधिकतम ६० हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइने तथा प्राविधिक सेवा खेतबारीमै पुगेर प्रदान गरिने व्यवस्था रहेको पनि अवस्थीले जानकारी दिए।
डडेल्धुरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लालमणि पन्तले कार्यक्रमको उद्देश्य सकारात्मक भए पनि अर्गानिक उत्पादनको बजारीकरण अझै चुनौतीपूर्ण रहेको बताए।
उत्पादनसँगै बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले आलु उत्पादनको उदाहरण प्रस्तुत गरे।
प्रमुख जिल्ला अधिकारी अम्मर वलीले कृषि उत्पादनदेखि बजारीकरणसम्म संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। स्थानीय उत्पादनको ब्रान्डिङ गरी प्रतिस्पर्धी बजारमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले कृषि क्षेत्रको व्यवसायीकरणले बेरोजगारी न्यूनीकरणसँगै आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।
उनले डडेल्धुराका जैविक तथा प्राकृतिक उत्पादनलाई छुट्टै पहिचानसहित बजारमा स्थापित गर्नुपर्ने धारणा राखे।

