
डडेल्धुरा : एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्री हटाउन निर्देशन दिएर आफ्नै नजिककालाई मन्त्री बनाउन निर्देशन दिएका छन् ।
ओलीले दलका नेता राजेन्द्र रावलको इच्छा विपरितका प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन निर्देशन दिएका हुन ।

अहिलेका सबै तीन मन्त्री सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरासिंह सार्की र राज्यमन्त्री निर्मलादेवी सावद रावल निकटकै थिए ।
ओलीले मन्त्री बनाउन भनेका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र दमन भण्डारी रावललाई दलको नेताबाट हटाउन सक्रिय थिए ।

उनीहरुकै कारण ओलीले गुण्डुमा सुदूरपश्चिमको संसदीय दलको बैठक बोलाएर रावललाई दलको नेता कायम गराएका थिए ।
एमालेले पाएको भौतिक पूर्वाधार विकासमा शर्मा, आन्तरिक मामिला तथा कानुनमा मल्ल र भूमी व्यवस्था, कृषि तथा सहकारीमा भण्डारीलाई पठाइने भएको छ ।
भने भौतिक पूर्वाधार राज्यमन्त्रीमा वम जाने भएकी छन् । भौतिक राज्यमन्त्रीमा सिफारिस भएकी जानकी ऐर वम भने प्रदेश इन्चार्ज दामोदर भण्डारीका कारण रावलकै पक्षमा थिइन ।
कांग्रेसले पनि मुख्यमन्त्री कमलबहादुर शाहबाहेकका तीन मन्त्री र दुई राज्यमन्त्री परिवर्तन गर्ने निर्णय गरिसकेको छ तर को मन्त्री बन्ने भन्ने विवादले मन्त्रीपरिषदको पुर्नगठन भएको छैन ।
कांग्रेसमा पनि दलको नेताबाट मुख्यमन्त्री शाहलाई हटाउने प्रयास भएको थियो तर शाहलाई राखेर मन्त्री र राज्यमन्त्री परिवर्तन गर्ने सहमति भएको छ।




