
डडेल्धुरा : माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत १२ दलबीच १९ कात्तिकमा टुंगिएको एकता अब प्रदेश–प्रदेशमा संरचनासहित विस्तार हुँदैछ।
संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालको संयुक्त कार्यसूचीअनुसार मंसिर महिनाभर देशभर ‘एकता सन्देशसभा’ सञ्चालन हुँदैछ। एकता प्रक्रियाको औपचारिक सुरुवात १२ मंसिर सुदूरपश्चिमबाट हुने भएको छ।

सन्देशसभाअघि नै प्रदेशस्तरीय संरचना सार्वजनिक गर्ने तयारीसँगै सुदूरपश्चिममा इन्चार्ज भीम रावललाई जिम्मेवारी दिने अन्तिम चरणको सहमति बनेको एक नेताले बताए।

रावललाई इन्चार्ज बनाएर संयोजक वा सह इन्चार्ज खगराज भट्टलाई बनाउने तयारी भएको बताइन्छ। भट्ट माओवादी सुदूरपश्चिमका संसदीय दलका नेता हुन्।
माओवादीको सुदूरपश्चिम प्रदेश समिति करिब ५ सय सदस्यको, नेकपा (एस)को करिब ३ सय सदस्यको र रावल नेतृत्वको जागरण अभियानसमेत जोडिँदा ८/९ सय सदस्यको संयुक्त प्रदेश समिति बन्ने अनुमान गरिएको माओवादीका सुदूरपश्चिम प्रदेश समिति सचिव जनक बुढा बताउँछन्।
नयाँ संरचनामा इन्चार्ज रावल हुने, संयोजक माओवादी केन्द्रले पाउने र सह–संयोजक नेकपा (एस)लाई दिने प्रारम्भिक मोडालिटी बनाइएको माओवादी स्रोत बताउँछ। सह–इन्चार्ज पद पनि माओवादी र एसबीचै बाँडफाँड हुने अपेक्षा छ।
१२ मंसिरको सन्देशसभासँगै सुदूरपश्चिममा औपचारिक रूपमा एकीकृत कम्युनिस्ट संरचना सञ्चालनमा आउनेछ।
यसपछि क्रमशः १३ मंसिर लुम्बिनी, १४ मंसिर गण्डकी, १५ मंसिर कोशी, १७ मंसिर उपत्यका, १८ मंसिर कर्णाली, १९ मंसिर सम्पर्क–समन्वय, २० मंसिर मधेश र २३ मंसिर बागमतीमा एकता सन्देशसभा हुने कार्यक्रम रहेको छ।



