
डडेल्धुरा : नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेपाल समाजवादी पार्टीबीच हुन लागेको बहुप्रतिक्षित पार्टी एकता फिलहाल रोकिएको छ।
शीर्ष नेतामाझ सहमति नजुट्नुका साथै दोस्रो पुस्ताका नेताको दबाबले प्रचण्ड र माधव नेपाल पछाडि हटेका हुन्।

गत दुई वर्षदेखि निरन्तर छलफलमा रहेका यी चार दलबीच तिहारलगत्तै एकता घोषणा गर्ने तयारी भए पनि अहिले त्यो सम्भावना टरेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपाल दुवै पक्षमा पार्टीभित्र असन्तुष्टि बढेपछि सावधानीपूर्वक पछि हटेका हुन्।
माओवादीमा उपमहासचिव जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत नेताहरूले अपरिपक्व एकताले २०७४ सालको माओवादी–एमाले एकता जस्तै फेरि फुट्ने चेतावनी दिएका छन्।

त्यस्तै, एकीकृत समाजवादीमा झलनाथ खनाल र घनश्याम भुसाल एकताको विपक्षमा खुलेर उत्रिएका छन्। उनीहरूले ‘पहिले वैचारिक स्पष्टता र संगठन सुदृढीकरण, त्यसपछि मात्र एकता’ भन्ने अडान लिएका छन्।
नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकता सकारात्मक भए पनि पाँच बुँदे सर्त अघि सारेका छन्।
विप्लव, प्रचण्ड र माधवबीच पार्टीको नाम नेकपा समाजवादी राख्ने र चुनाव चिन्ह कलम वा हँसिया–हतौडा राख्ने प्रस्तावबारे समेत छलफल भएको थियो।
तर, यी प्रस्तावहरू सार्वजनिक भएपछि दोस्रो पुस्ताका नेताहरूले शीर्ष नेतृत्वलाई एकल निर्णय नगर्न चेतावनी दिएका छन्। फलस्वरूप दुवै पार्टीका अध्यक्षले एकताको प्रक्रिया तत्काल रोक्ने निर्णय गरेका छन्।
अब प्रचण्ड, माधव, विप्लव र महेन्द्र राय यादवबीच समाजवादी मोर्चालाई सशक्त बनाउँदै वैचारिक तयारीका साथ भविष्यमा एकता गर्ने रणनीतिमा छलफल भइरहेको छ।
स्रोतहरूका अनुसार दुवै दलमा अहिले दोस्रो पुस्ताको असन्तुष्टिलाई सम्बोधन गर्दै संगठन पुनर्गठन र महाधिवेशन तयारीमा ध्यान केन्द्रित गरिएको छ।



