
डडेल्धुरा : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले डडेल्धुराको तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्रलाई सम्मान गरेको छ।
आइतबारदेखि मंगलबारसम्म धनगढीमा सम्पन्न आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी पश्चात् मन्त्रालयले पहिलोपटक सुदूरपश्चिममै हाइब्रिड बीउ उत्पादन गर्ने उपलब्धिका लागि केन्द्रलाई सम्मान गरेको हो।


बीउ उत्पादन केन्द्रकि प्राविधिक अस्मिता ढकालले वर्षभरिका कार्यक्रमहरू समेटेर गोष्ठीमा प्रस्तुति दिएकी थिइन।

बीउ उत्पादन केन्द्रले श्रृजना जातको टमाटरको ६ केजी र मधु जातको काँक्रोको ५ केजी हाइब्रिड बीउ उत्पादन गर्न सफल भएको छ।
केन्द्र प्रमुख तारिसिंह ठकुराठीले जनशक्ति र बजेटको अभाव हुँदाहुँदै पनि प्रदेशमै पहिलोपटक हाइब्रिड बीउ उत्पादन सफल भएको र मन्त्रालयको सम्मानले थप ऊर्जा र प्रेरणा मिलेको बताए।
उनले बीउ उत्पादन सफल बनाउन सहयोग गर्ने कर्मचारी, कृषक, कृषि ज्ञान केन्द्र डडेल्धुरा र मन्त्रालय परिवारप्रति आभार प्रकट गरे।
हाइब्रिड बीउ उत्पादनको अभियानमा सहयोग पुर्याउने डडेल्धुराका अगुवा कृषक प्रिन्सराज अवस्थीलाई समेत मन्त्रालयले सम्मान गरेको छ।
उक्त केन्द्र विसं २०४३ सालमा मूल बीउ उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको हो।



